पारु लिम्बु
युडब्ल्युबी/गेस्ट ब्लग

सामाजिक सञ्जाल पनि बडो अनौठो लाग्छ । यसो केही लेख्यो प्रतिक्रियाहरु थुप्रिने । तर आधिकारीक भने नहुने ।
प्रगतिशील भनिएका लेखक खगेन्द्र संग्रौलाको झण्डै ३ महिना पहिला छापिएको एउटा अन्तर्वार्ता आँखामा ठोकिन आईपुग्यो । अन्तर्वार्ताको हेडलाईन थियोः “लिम्बुवान स्वायत्तता नभए ठुलो रक्तपात हुन्छ˝ । अन्तर्वार्ता पढ्नासाथ मेरो मनमा थुप्रै प्रश्नहरु ओहिरिए ।
सुझाव संकलनको नतिजा राम्रो।नाम र सीमासहितका प्रदेश, प्रत्यक्ष निर्वाचित कार्यकारी, आमा वा बाको नाममा नागरिकता नभए अब आगो बल्ने भो।राम्रो भो।
— Khagendra Sangroula (@belakoboli) July 23, 2015
कति सजिलोसँग हिंसाको लागि उकास्न सकेका यी मनुवाले भन्ने । अर्कोतर्फ फेरी यही हेडलाईन मनमा खेलाएँ र सम्झिँएः के यो अभिव्यक्ति हिंसाको पुजारी बाहेक सामान्य मानिसले दिन सक्छ? अझै गहिरो प्रश्नः ठुलो रक्तपातको लागि त रगत बगाउनुपर्छ । रगत कसले बगाउने? संग्रौला परिवारले? के संगौला परिवार रगत बगाउन तयार छ? के होसहवास् मै यस्तो बोले त खगेन्द्र संग्रौलाले?
यसपछि मेरो मनमा थप प्रश्नहरु उठ्दै गए । संग्रौलाजी जस्तो “आर्दशवादी” व्यक्तिले आफू र आफ्नो परिवारलाई रक्तपातमा नहोमी लिम्बुलाई रक्तपातमा होमिन कसरी आव्हान गरे होलान र?
यस विषयमा जान्ने इच्छा तिव्र भयो र मैले संगौलाजीलाई प्रत्यक्ष सम्बोधन गरेर ट्विट गरेँः तपाँई उग्र क्रान्तिकारी भएकोले सबैले सोधिरहेका छन्ः तपाईँका सबै सन्तान यहि देशमा छन्? की अमेरिका युरोपमा? जवाफ दिनुस है मान्यबर ।
ट्विटगर्ना साथ टिवटे प्रतिक्रिया शुरु भयो । मोटामोटी रुपमा ट्विटमा (टाईमलाईन र डिएम)मा के कस्ता प्रतिक्रिया प्राप्त भए भन्ने म यसरी प्रस्तुत गर्न अनुमति चाहन्छु:
तपाईँका सन्तानहरु विदेशतिर छन् । तपाईँ पनि केही समय अमेरिकातिर बस्नुभएको थियो । त्यता बस्न गाह्रो भएर नेपाल नै फर्कनु भयो । तपाईँले छोरा विदेश गएपछिको दशैंमा दशैंको प्रतिकात्मक महत्व दर्शाउँदै छोराछोरी विना दशैं मनाउन पर्दाको पीडा समेटेर लेख लेख्नुभएको छ ।
कतिपयले भने तपाईँको उमेर पुगेका छोराछोरीको उनीहरु अनुकुल जीवन बिताउनु अधिकार हो । यसमा सार्वजनिक बहस जरुरी छैन । भन्ने प्रतिक्रिया पनि व्यक्त गरे ।
म व्यक्तिगत रुपमा तपाईँको छोराछोरीको गोपनियताको हकको उच्च सम्मान गर्दछु र यो देशका हरेक बयश्क नागरिकले आफ्नो व्यक्तिगत निर्णय गर्न स्वतन्त्र छ भन्ने पनि विश्वास गर्दछु ।
सँगै म सम्झन्छु माहात्मा गान्धीलाई । उनी भन्दथे जुन कुरा तिमि तिम्रो जिवनमा लागु गर्न सक्दैनौं त्यो कुरा अरु व्यक्तिमा लाद्नु ठिक होइन । उनी यतिसम्म आदर्शवादी थिए की आफूले चीनी खान छोड्न नसक्दासम्म गाउँका बालबालिकालाई चीनी धेरै खान हुन्न भन्ने अनुरोध समेत गरेनन् । अर्थात आफुले नै कार्यान्वयन गर्न नसक्ने आदर्श अरुलाई सुनाउन हुन्न भन्ने ठान्दथे गान्धी ।
ठुलो रक्तपात भन्ने शब्दले बोकेको अर्थ के हो पक्कै थाहा पाएर नै तपाईँले अन्तर्वार्ता दिनुभयो होला । रक्तपातको “आदर्श” छाँट्नु अघि तपाईँले एकपटक आफ्नो छोराछोरीको रगत बगे के हुन्छ भन्ने कल्पना गर्नुभयो? की तपाईँलाई कथित प्रगतिशील र क्रान्तिकारी बनाईदिन जनताका छोराछोरीले मात्र रगत बगाउनुपर्ने हो?
यदी म तपाईँकी छोरी भईदिएको भए निश्चय नै भन्ने थिएँः बाबा सोझा जनतालाई रगत बनाउन आव्हान गरिएका विचार छाड्नुहोस् । तपाईँ आफ्नै सन्तानका अनुहार सम्झेर भएपनि मर्ने र मार्ने कामको वकालत छाड्नुहोस ।
मलाई आशा छ तपाईँको छोराछोरीले पनि तपाईँलाई यो अनुरोध गर्नुभएको छ । तपाईँको छोराछोरीलाई यो महसुस पक्कै होला की यो देशमा “ठुलो रक्तपात” हुँदा साना मान्छेहरु अर्थात गरिब मान्छेहरु नै मारमा पर्दछन । उनीहरु जस्ता सयौं छोराछोरीहरुको विचल्लि हुन्छ । ज्यान जान्छ ।
गोपनियताको हकको सम्मान गर्दै, व्यक्तिगत प्रश्न भएकोमा माफी माग्दै म नम्रतापुर्वक प्रश्न गर्न चाहन्छु कृपया एकपटक आफ्नै छोराछोरीलाई सोध्नुहोस्ः मैले गरेको ठुलो रक्तपातको आव्हान कसको लागि हो? यसले सोझा जनताका छोराछोरीको हित गर्छ ? गरिब लिम्बुहरुको हीतमा छ ठुलो रक्तपात?
संग्रौलाजी काठमाडौं निर्मम छ । निर्दयी छ । टाठाबाठा बाहुनक्षेत्री र टाठाबाठा जनजाती नेताहरुको एकता छ । हिजोका शाषकका सन्तानहरुसँग केही टाठाबाठा जनजाती नेताको मुद्धाहरुमा एकता जस्तो देखिन्छ । खास त्यो स्वार्थको एकता हो । धनी र शाषक बाहुन र धनी र अग्रभागमा रहेका अन्य जातजातीको मिलोमतो छ । टाठाबाठा बाहुनलाइ गरिब बाहुनको सत्तोसराप गरेर “प्रगतिशील/क्रान्तिकारी” देखिनु छ भने टाठाबाठा जनजाती नेताहरुलाई पनि टाठाबाठा बाहुनको समर्थनमा मुलधारमा उपस्थिति देखाउनु छ । तपाईंकै दर्शनमा हिजो देशका गरिबलाइ चुसेर पढेकाहरु आज अचानक “क्रान्तिकारी” हुनु कत्तिको प्राकृतिक हो? आफैं बुझ्नुहोला ।
सबै क्षेत्रीबाहुन शाषक हुन भने तपाईँ पनि शाषक नै हो नी होईन र? सबै क्षेत्रीबाहुन शोषक हुन भने तपाईँ पनि शोषक नै हो नी हैन र? की तपाईँजस्तो बिचार राख्ने बाहुन मात्रै “प्रगतिशील” र फरक विचार राख्ने गाउँको हली पनि सामन्त हो र? गोलमोटोल शब्द प्रयोग गरेर धनी बाहुन र वास्तविक शाषकहरुको चाकडी र गरिब पहाडे बाहुनलाई सत्तोसराप गर्नुको फाईदा के?
संग्रौलाजी तपाईँको जस्तो लामो अनुभव त मेरो छैन । कहिलेकाँही सुन्थे तपाईँ बामपन्थी विश्लेषक हो भन्ने । वामपन्थि विश्लेषकले वर्गको कुरा कस्तो भुलेको?
वर्गको कुरा भुल्नुस ठिक छ । तर जातजातिकोबीचमा फाटो ल्याउने काम नगर्नु होला । हरेक पटक बोल्दा सम्झने गर्नुस तपाईँका छोराछोरी र अरु बाआमाको छोराछोरीको जीवनको मुल्य बराबर होईन र?
अन्तमा, व्यक्तिगत टिकाटिप्पणी हुन पुगेको भए माफ पाउँ। अप्रिय र बिझ्ने शब्द परेको भए नि माफ पाउँ। यो मेरो व्यक्तिगत भावना हो। तपाईंको छोराछोरीको उदाहरण प्रस्तुत गरे पनि म वहाँहरुले यो देशका आम मानिसका छोराछोरीले जस्तो द्वन्द र हिंसा भोग्न नपरोस भन्ने कामना गर्दछु।
(हाल: लाहान)

Public perception of leaders changes with time. But the public image of Maoist Chairman Prachanda is changing rather fast.