रघु मैनाली

कुरा नयाँ होइन तर सान्दर्भिक भयो । त्यसैले केही लेख्नु जरुरी ठानेँ । म लिंग, नश्ल, वर्ण र रंगका आधारमा समाज र राज्यको परिभाषा खोज्ने प्राचीन मानव चेतनाको पक्षधर होइन । वर्तमानका मेरा सर्वजाति अभिभावक, संगी र भावी सन्ततिहरूबीच परस्पर घृणा फैलाउने र बदलाको भावना सिर्जना गर्ने कुरा म सोच्नसम्म पनि सक्तिनँ । तसर्थ, मेरै विगत र सन्निकट इतिहासको अतिव्याख्या, अल्पव्याख्या र अपव्याख्या भइरहेकाले तथ्य र यथार्थको उजागर गर्नु यो लेखको पहिलो अभिलाषा हो । इतिहासका नाममा चर्को स्वरले आफ्ना मनोगत स्वार्थहरूलाई भरमार व्याख्या गर्ने वर्तमानको नांगो ‘राजनीतिक’ प्रवृत्तिलाई खबरदारी गर्नु दोस्रो अभिलाषा हो ।
कुरा वर्तमानबाटै थालौँ । म नेपालको मेची महाकाली फैलिएर जुगौँदेखि बसोबास गरिरहेको खस बाहुन, क्षेत्री । एनेकपा (माओवादी) र केही कम्युनिस्ट कलेबरका जनजाति नेताहरूले हिजोआज चित्रण गर्ने गरेको सदिऔँदेखिको शासक र शोषणको पर्याय । नेपालको अन्तरिम संविधान–२०६३ को शब्दमा भन्दा म अन्य जाति । मेरो परिचय सत्ता राजनीतिको उन्मादले पटकपटक परिवर्तन गरिरहन्छ, जसले गर्दा मेरो विगत, वर्तमान र भविष्यको परिचय सत्ता स्वार्थका उन्मादी व्याख्याताहरूले आफ्नो अनुकूल व्याख्या गरे, गरिरहेका छन् र गरिरहने पनि छन् । भविष्यमा म कसरी परिचित हुन्छु, ठ्याम्मै थाहा छैन । तर, मेरो इतिहास, विगत र वर्तमानका बारेमा तपाईंलाई भन्नै पर्ने अब मसँग केही तथ्य, यथार्थ र सन्दर्भहरू छन् ।
अढाई सय वर्षअघिको नेपालको कुरा गर्ने हो भने यहाँ बाइसी चौबिसी राज्य थिए । ती राज्यमा वंशजका आधारमा राजा हुन्थे, शाह वंश, सेन वंश, मल्लवंश आदि । वंशजका आधारमा राजा हुनु भनेको जात वा सम्प्रदायको प्रतिनिधित्व गर्नु होइन । त्यसैले यस्ता राज्य व्यवस्थालाई इतिहासकारहरूले जहानियाँ शासन भने । त्यसबेला मेरो परिचय वंशीय राज्यको रङ्क थियो ।
मलाई पढाइएको इतिहासकै शब्दमा भन्दा विसं १८३० को सुरुआतसम्ममा गोरखाका शाहावंशीय राजा पृथ्वीनारायण शाहले बाइसी चौबिसी राज्यहरू एकीकरण गरी नेपाल देश बनाए । राजा पृथ्वीनारायणले १८३१ साउन २२ गतेको मुलुकी लाममोहरमा ‘किरात–लिम्बुवान क्षेत्र लिम्बू कुलभाइलाई दियौँ’ भनी लेखिदिए ।
यसैगरी रणबहादुर शाहले १८४३ सालमा लाममोहोर लगाई तिरो लिने अख्तियारी उनीहरूलाई दिए । राणाकालमा ठेक्काथितिअनुसार ३० रुपियाँ उठ्ती हुने ६० मुरी खलाखेत सरकारलाई बुझाउनेलाई सुब्बाको दर्जा र १५ रुपियाँ उठ्ती हुने ३० मुरी खलाखेत सरकारलाई बुझाउनेलाई राई दर्जा दिए । अहिले त्यही राणा शासकले दिएको दर्जा कमरेड अशोक राईहरूको चिनारी भएको छ । किपटीयाले आफ्नो किपटमा चलानीद्वारा अरू जातका मानिसलाई बसाउन पाउँथे । यसरी बसाइएका मानिसलाई रैती भनिन्थ्यो । उनीहरू रैतीबाट तिरो असुल्थ्ये । तिरोका अतिरिक्त सुव्बा जिम्मावालहरूले रैतीबाट असुल्ने ठेकीबेठी, नगद नजराना, झारा, दशैँभाग पर्थे ।
त्यसबेलाका अरू नानाभाँती थितिको अहिले धरै बयान नगरौँ । कमरेड सूर्य कन्दङवाले किसान मुक्तिका लागि सुब्बा जिम्मावालको यही शोषणका विरुद्ध आठराईभेगमा संघर्ष गरेर आफ्नो कम्युनिस्ट राजनीतिक यात्रा सुरु गरेका थिए । यसरी नेपालमा जग्गा नापी सुरु नभएसम्म म रैती भएँ । र, मैले चिठी पाउने ठेगाना थिए–वल्लो किरात, माझ किरात, पल्लो किरात नेपाल आदि इत्यादि । मलाई कतै सुब्बा, कतै राई, कतै घलेले शासन गरे, कतै मुखियाले अनि कतै चौधरीले । ०३५/३६ सालसम्ममा नेपालका धेरै भागमा नापी भइसकेको थियो । नापीपछि ती भेकमा मेरो परिचय शाह वंशीय राजाको प्रजामा बदलियो र म प्रजा भएँ ।
यी थरीथरीका वंशीय शासन र तिनसँग साठगाँठ गरेर राज्य चलाइरहेका सुब्बा, राई, मुखिया, घले र चौधरीका विरुद्ध म इतिहासभरि मुक्तिको संघर्ष गरिरहेँ । मकै पर्व मैमाथि आइलाग्यो, राजद्रोहको भागीदार पनि ठूलो संख्यामा मै बन्नुपर्यो । सर्वस्वहरण, देश निकाला, जेल सजायँ आदि इत्यादि सजायँ मैमाथि आइपरे । यसरी म मुक्तिको आन्दोलनमा वंशीय शासनका विरुद्ध अग्रिम मोर्चामा डटिरहेँ । १९९७ साल होस् कि ००७ साल, ०३६ साल होस् कि ०४६ अनि ०६३ साल । ०४६ सालको जनआन्दोलनपछि म जनता भएँ भनी गर्व गर्न थालेँ । ०५८ सालमा फेरि मलगायत सबै नेपाली जनतामाथि अनिष्ट आइलाग्यो । ०६१ सालमा त वज्रपातै भयो । फेरि ०६३ सालमा शाहवंशको विरुद्धमा अन्तिम लडाइँमा सामेल भएँ । ०६४ पछि अबचाहिँ नागरिक भएँ भनी मख्ख परेका बेला मेरो परिचय अचानक फेरि बदलियो र म सदिऔँदेखिको शासक र शोषणको पर्याय बनेछु ।
तिनै मलाई रंङ्क, रैती, प्रजा बनाउनेहरू नै यो आरोप लिएर चर्को स्वरमा कराउन थाले । कस्तो विडम्बना ! यसैबेला मौकाको फाइदा उठाउन तराईका बाहुन क्षेत्री मैमाथि खनिए– खस बाहुन क्षेत्रीहरू शोषक हौ भनेर । तिमी मधेसी बाहुन क्षत्री अर्थात् वैदिक बाहुन । हिन्दूशास्त्रका हेपाहा थिति तिमीले बसाल्यौ, जयस्थिति मल्ललाई नेपालमा वर्णाश्रम व्यवस्थाको सुरुआत गर्न तिमीले नै सिकायौ, मुलुकी ऐन तिमी झा बाहुनहरूले लेख्यौ । युएनडिपी, नेपालले निकालेको हालसालैको मानव विकास प्रतिवेदनमा नेपालको सबै हिसाबले अति सम्पन्न जातिको सूचकांकमा पनि तिमी तराई बाहुन–क्षेत्री एक नम्बरमा छौ । कस्तो गज्जब ! धान खाने मुसो चोट पाउने भ्यागुतो ।
म सुब्बाहरूको थिचाइमा परेँ तर लिम्बूहरूको होइन । म राईको पेलाइमा परेँ तर किरातीहरूको होइन, म मुखिया, घले र चौधरीको मिचाइमा परेँ तर मगर, गुरुङ र थारूहरूको होइन । त्यसबेला धेरै लिम्बू, धेरै किराती, धेरै मगर, गुरुङ, थारूहरू मजस्तै निरीह जीवन बाँच्न बाध्य थिए । जुन वंशीय, जातीय शासनको स्वभाव पनि हो ।
सत्रौँ शताब्दीसम्म विश्वमा जातीय शासन थियो । त्यहाँ रंगले, नश्लले र लिंगले शासन गथ्र्यो । त्यसबाट मुक्तिका लागि पुँजीवादी, समाजवादी आन्दोलनहरू सुरु भए । प्रजातान्त्रिक र साम्यवादी व्यवस्थाको सुरुआत र वकालत हुन थाल्यो । शोषण, अन्याय, असमानता र विभेदबाट मुक्तिका लागि अनेकन सिद्धान्त प्रतिपादन भए । मार्क्सवादी विचारधाराले समाज वर्गीय हुन्छ र शोषण पनि वर्गीय हुन्छ भन्ने कुरालाई अघि सार्यो । अर्को संरचनावादी विचारधारा आयो । यस विचारधाराअनुसार राजनीतिक तथा राज्य संरचनाले गर्ने स्रोत र शक्तिको असमान वितरणका कारण समुदाय गरिब हुन्छ भन्ने मत सुरु गर्यो । अर्को स्थान विचारधारा भनी सुरु भयो ।
जसअनुसार मानिस गरिब हुन्छन् किनभने उनीहरू कमजोर स्रोतको आधार भएको अनकन्टार स्थानमा बसोबास गर्छन् । यस विचारधाराले स्रोतलाई सीमित गरी मान्छेका आवश्यकताहरू खुम्च्याउने प्रकृतिले नै गरिब बनाउँछ भन्ने मत अघि सार्यो । अर्को सामुदायिक विचारधाराले परम्परागत समुदायमा आफ्नैखाले मूल्य, मान्यता र वर्ग संरचना हुन्छन् । ती मूल्य, मन्यता र वर्ग संरचनाअनुसार नै त्यहाँको भौतिक, प्राकृतिक, बित्तीय र मानव पुँजी एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ । सामुदायिक विचारधाराले सीमित र अपर्याप्त यिनै पुँजीहरूका कारण समुदायका बासिन्दा गरिब र विपन्न हुँदै जान्छन् भन्ने मन्यता स्थापित गर्यो ।
यी सबै मत र विचारधाराहरू असमानता, विभेद, अन्याय र शोषणबाट मुक्तिका लागि उपायका रूपमा समस्यालाई बुझ्न सुरु गरिएका थिए । अहिले यहाँ केही माओवादी र जनजाति नेताहरूले भनेजस्तो जातीय राज्य असमानता, विभेद, अन्याय र शोषणबाट मुक्तिको उपाय हो भन्ने सिद्धान्त वा विचारधारा कतै फेला पर्दैन । यदि मुक्ति हुने भए डा. कृष्ण भट्टचनहरूले अन्याय र शोषणमा परेको गिडगिडाहट गर्नुपर्ने थिएन, किनभने ०६४ सालमा नेपालबाट राजतन्त्रको समाप्ति नभएसम्म मुस्ताङमा जिग्मेपरवर विष्ट राजा थिए । र, यो पूर्ण स्वायत्त पनि थियो, जसको प्रमाण हो उपल्लो लोमानथाङ जान विदेशीहरूले जिग्मेपरवरबाट छुट्टै प्रवेशाज्ञा लिनुपर्थ्यो । नीति सिद्धान्त र जनताको सामूहिक तागतभन्दा अन्तैबाट आनन्द खोज्ने नेताहरूका बानीले अहिले जातीय राज्य नै मुक्तिको बोटोका रूपमा चित्रित हुँदै छ । नेता हुँ भन्ने हठबाट जन्मेका यस्ता इच्छा धेरै खतरनाक छन् । मैले सुनेको थिएँ बुद्धि खारिएको हुन्छ, भाँडिएको होइन । तर, शक्ति र सुख भोग गर्ने हडबडे इच्छा नै हाम्रा नेताको चेतना रहेछ । हाम्रा नेतासँग बुद्धिभन्दा बढ्ता आवश्यकताहरू रहेछन्, जसले उनीहरूलाई मूर्ख बनाइरहेछ ।
त्यसैले अहिले मानव मुक्तिका लागि होइन, आत्मस्वार्थको होसियारीले हाम्रा नेताहरू चिच्याइरहेछन् । तिमी नेताहरूले हामी जनतालाई त्यस्तो बालकझैँ ठानेका छौँ, जो क्षितिजलाई आकाश र धर्ती जोडिएको ठान्छ । तर, नेताहरूले नेपाली जनताको चेतनालाई कमजोर ठानेर विरोल्न सक्छु भन्ने दु:स्वप्ना नदेखे हुन्छ । ००७ सालमा राई र सुब्बाहरूले पूर्वी नेपालमा अन्य जाति लखेट्ने अभियान थाल्दा त्यसका विरुद्धमा धेरै लिम्बू र किरातीहरू ध्यानबहादुर राई, मुलुक सिहं राई, बयान सिंह राई, रामप्रसाद राई, अक्कलबहादुर कन्दङ्वा, सेतु कन्दङ्वा, जयप्रसाद लिम्बू, हर्कजंग मादेन र रामबहादुर नेम्वाङहरू सशक्त रूपमा उभिएका थिए । अहिले त नेपाली जनताको ००७ सालको मात्र होइन, ०७० सालको चेतना हो । नेपाली जनताको यो आधुनिक चेतनाले बरु उल्टै भनिरहेछ– तिमी नेताका अहिलेसम्म सार्वजनिक भएका बुद्धि र भूगोलको क्षितिजमा समान गुण छन्, यी दुवै भ्रम हुन् ।
मैनालीको यो लेख पहिलोपल्ट गत बर्ष सौर्य दैनिकमा प्रकाशित भएको हो ।
Comments
4 responses to “खस क्षत्री–बाहुनको बकपत्र”
kasto ramro lekh bastama bastabikta yehi ho.
Itihas lai liyera bartaman ma tighra bajarnu yo janajati vanauda ko maha murkhata ho.katipaya kura haru samajdari ma pani samadhan garna sakinx.
मैनाली जी ,नमस्कार ,लेख पढेर मन धेरै प्रफुल्लित हुन् पुग्यो, राम्रो शैली संगै वास्तविकता प्रस्तुत गर्नु भयो ,अझै पढन पाउने उम्मेद छ , पुनः अभिवादन सहित धन्यवाद …..
[…] Read: खस क्षत्री–बाहुनको बकपत्र […]