मेरा मनका माओवादी-१

UWB Note: In this article written in Nepali language, Maya the blogger, describes how she felt when a Maoist guerilla fell in love with her. She visits the comrade in his village to prove to the guerilla that she is not just a city girl out of touch with harsh ground realities of Nepali society. She also discusses revolution with him. In the next concluding part of the article, she will describe her experience of growing up with expanding Maoist activities around her neighborhood. Here is her first piece in the series.

‘यो त शहरीकी बेकम्मा केटी बोले झै भयो । युद्ध भयानक कुरा हो । आफ्नै साथीको लास कुल्चेर अगाडी बढ्नु के सानो कुरा हो ?’– माओवादी छापामार

maoist flag in the house of an army man
सैनिकको घरमा माओवादी झन्डा । छोराहरु सेनामा पठाउने परिवारका घरमा माओवादीले यसैगरी जवरर्जस्ती झन्डा गाड्दै छोरालाई तत्कालै सेनाबाट निकाल्न उनीहरुले आदेश दिएका छन् । त्यस्तै आदेश पाएकी एउटी आमाको तस्बिर भित्र छ । सब‍ै तस्बिर-माया

माया
शनिवासरीय ब्लग

कसैले तपाइलाई प्रेम प्रस्ताव राख्यो भने ? झट्ट के सोच्नुहुन्छ ? एकसेकेण्डभन्दा पनि कम समयमा ? तपाइले सोच्न भ्याउनुहुन्न । एक मिनेटमा पनि तपाइको दिमाग खाली नै हुन्छ । अँ बरू तपाइले कहिले काँही कतै सोचीरहनु मान्छेले त्यो प्रस्ताव राखेको भए लजाउनुहुन्छ । लजाउन चाँहि तपाइले एक सेकेण्ड पनि लिनुहुन्न । लाजले तपाइको अनुहार रातो हुन्छ । तपाइले पट्टक्कै नरूचाएको मान्छेले भनेको भए, तपाइ रीसाउनुहुन्छ । रीसले तपाइको अनुहार कालो हुन्छ । यो पनि एक सेकेण्ड भित्र नै हुन्छ तर कहिले काँही यी दुबै बाहेक अरू पनि केही संवेग उत्पन्न हुन्छ । राम्रोसंग चिनिरहेको तर उसप्रति आफ्नो मनमा प्रेम गर्ने सोच पटक्कै नभएको बेलामा मान्छे स्तब्ध हुन्छ । यो पनि एक सेकेण्ड भित्रमा नै । प्रेममा अनुहारमा आउने भावमा एक सेकेण्डको बडो महत्व हुन्छ ।

maoist flag in the house of an army man
सैनिकको घरमा माओवादी झन्डा

मैले प्रेममा यी तीनै थरीका अनुभव भोगे । मन पराएको मान्छेले प्रेम गर्छु भन्दा खुब लजाए, मन नै नपराएको मान्छेले भन्दा खुब रीसाए अनि सोच्दै नसोचेको मान्छेले भन्दा स्तब्ध भए । मेरो आफ्नै अनुभव हो यो । एउटा मान्छे जोसंग मैले केही महत्वपुर्ण र दुर्लभ समय बिताएको छु, मैले त्यो मान्छेसंग निरन्तर सम्बन्धका बारेमा सोचेको थिए तर अचम्म लाग्दो तरीकाले भनिदियो, ‘म तिमीलाई मनपराउँछु ।’

‘ए हो र ?’ ठट्टा झै लाग्यो नि पहिला त । त्यसैले त्यस्तै पारामा जवाफ फर्काए । संवाद टेलीफोनमा भइरहेको थियो । म ऐना अगाडी नै थिए । म हाँसी रहेको थिए ।

‘हो, म तिमीलाई मन पराउँछु ,’ उताबाट बोल्ने मान्छे म झै हाँसीरहे जस्तो सुनिदैनथ्यो ।

‘ए हो !’ म अझै जीस्कीरहे । म जीस्कीनु अस्वभाविक थिएन किनकी मलाई प्रस्ताव राख्ने कुनै साधारण मान्छे थिएन । ऊ म झै पानीपुरी खाएर एक्लै एक्लै न्युरोडमा बरालिन मनपराउने मान्छे थिएन । ऊ म झै कम्प्युटरअगाडी बसेर काम गर्ने अनि लञ्च खाने मान्छे थिएन । ऊ म झै मोवाइलमा एसएमएस गरेर मुस्काउने मान्छे थिएन । ऊ म झै शहरका रेष्टुरेन्टहरुमा मम र पिजा खाने मान्छे थिएन । उ म झै डान्सपार्टीमा गएर नाच्न मनपराउने मान्छे थिएन । ऊ म झै देशको लागिभन्दा आफ्नो भविष्यको लागि मात्र काम गर्ने मान्छे थिएन । ऊ म झै देशको अबश्था बुझेर पनि ‘यस्तै हो मेरो देश’ भनेर आफै आफ्नो चित्त बुझाउने मान्छे थिएन । उ बन्दुक बोक्ने मान्छे थियो । देश बनाउन आफ्नो घरबार त्यागेर हिँडेको मान्छे थियो । दुखी मान्छे झै प्रायसो गम्भिर भएर बस्नुपर्ने ! ऊ माओवादी छापामार थियो । काँधमा बन्दुक भिरेको !

मैले उसलाई भेटेको एक बर्ष हुन लाग्यो । चैत्र २ गते मैले उसलाई भेटेको । मेरो मष्तिस्कमा सबै कुराहरू सम्झन जोड दि’रहन नपर्ने गरी ताजा नै छन् । माओवादी जनयुद्धका बारेमा सुनिरहेको, उनीहरूको बारेमा रूचि भएको मजस्तो मान्छेमात्र हैन जो कोही पनि, हो जो कोहीले पनि अचानक छातीभरी गोलीको माला लगाएको अनि बन्दुक भिरेको माओवादी देख्दा के उसमा कुनै संवेग उत्पन्न हुदैन ? प्रश्न यसकारण गरे किनकी कोही कोहीले भन्नकै लागि भनिदिन पनि सक्छन, ‘मलाई केही हुदैनथ्यो ।’ तर धेरै जनाले दिने जवाफको बारेमा म निश्चिन्त छु ।

cloud over bhugdeu village
भुग्देउ गाउलाई छोपेको गृष्मकालीन बादल

आहो ! पहिला त मनले यहि सोच्छ । अनि मान्छे डराउँछन् । यो एकदम स्वभाविक प्रकिया हो, तिनीहरूले मान्छे मार्ने गरेका पनि छन् एकदमै सस्तो तरीकाले । डराउनु भनेको डरछेरूवा हुनु हैन, तिनीहरूका अगाडी तर मेरो मनमा डर आएन । ओहो ! भन्ने चाँही लाग्यो । पत्रिका पढिएका, टीभीमा हेरीएका, रेडियोमा सुनिएका माओवादी छापामारलाई आफ्नो अगाडी देख्दा म दंग परे । यो जम्काभेट काभ्रेको मँहाकाल गा.वि.स.को भुग्देउ भन्ने तामाङ् बस्तीमा जाँदा बाटोमा पर्ने ताउरी डाँडामा भएको थियो । तराइको मान्छे ! पहाड हिड्न उसै चर्को हुन्छ झन् घाममा लगातार दुइघण्टा उकालो चढेकोकाले म यति थाकेको थिए कि ममा डराउने वा अरू केहि सोच्ने क्षमता नै थिएन । थुप्रै माओवादीसंगको पहिलाको सर्म्पर्कले पनि होला मनमा डर नआएको फेरी मनमा मैले उनिहरूलाई हानी पुर्याउने खालको केही नगरेको हुनाले केही गर्दैनन् भन्ने पनि थियो ।

उनीहरू पनि कँहि कतैबाट थाकेर आएकाजस्ता देखिन्थे । कसैले हातमुख मात्र धोए भने कसैले टाउको नुहाए । ‘क्लीनीक प्लस’ स्याम्पोले तिनीहरूले टाउको पखालेको मैले ख्याल गरे । हामीभन्दा पछि आएका उनिहरू सबैले हामीलाई हेरे । कुर्ता लगाएका अरू तामाङ्गनी (म त्यँही घर भएका तामाङ्गनीसंग गएकी थिए) हरू स्थानीय नै हुन् भनेर छुट्ट्याउन कुनै अप्ठेरो थिएन । तर मेरो पहिरन र हाउभाउ काटे पनि नमिल्ने गरी अन्तैको जस्तो थियो । त्यत्रो उकालो चढेर पनि तामाङ्गनीहरू मच्चि मच्चि हाँसीरहेका थिए । म भने एक किलो वजन पनि नभएको झोलामात्र बोक्दा पनि रूञ्चे अनुहार बनाएर बसीरहेका थिँए । उनिहरूले मलाई पालैपालो हेरे । म बसेकै ठाउँमा एउटीले पानी ल्याइदि’ र मैले मुख धोए । दिज्यू भनेर त्यो पानी ल्याइदिने केटीले मलाई बारम्बार गरेको सम्बोधनलाई पनि ती तामाङ्गनीहरूले ध्यान दि’रहेको मैले थाहा पाएको थिए ।

cpn uml party office in bhugdeu
एमाले पार्टी अफिसमा नौ बर्षदेखि साइनबोर्ड त छ तर बैठक चाहि नभएको स्थानीयले बताए ।

‘तपाइ कँहाबाट आउनु भएको ?’ एउटाले अगाडी उभिएर सोध्यो । सोध्ने तरीका सामान्य अबस्थाको जस्तो थिएन । स्वर कडा थियो र त्यसमा अनावश्यक आक्रोश थियो । म बसेको थिए, उसले उठेर सोधेको थियो । मैले तलदेखि माथिसम्म नियाले त्यो मान्छेलाई । भर्खर खुट्टा धोएकाले पाइन्ट माथि सुर्किएको थियो उसले । काँधमा बन्दुक थियो । कुन बन्दुक ? मैले चिनिन । अनुहार सम्म आइपुग्दा ऊ गोरो, अलिअलि दाह्री भएपनि सफा देखिने खालको थियो । उसका आँखा ठुला थिए, बाक्लो आँखी भौं भएकाले होला डरलाग्दो देखिन्थ्यो उसको आँखा । मैले एकछिन उसको आँखामा हेरे तर बोलिन । उसको प्रश्नको जवाफ दिनु जरूरी ठानिन यो जान्दाजान्दै पनि कि त्यो मौनता मेरालागि खतरनाक सावित हुन सक्थ्यो ।

‘काठमाडौंबाट ,’ साथीहरू बोले ।

‘किन आउनुभएको ?’ प्रश्न मतिर हेरेर नै सोध्यो ।

म फेरी बोलिन ।

‘डुल्न !’ फेरी जवाफ साथीहरूले नै दिए ।

‘झोला हेरौ त !’ उसले बोल्दा बोल्दै मेरो काखमा भएको झोला लियो । मैले दुवै हातले झोला हलुकासंग समातेका थिए । उसले झोला लियो भन्दा पनि खोस्यो । मलाई आफुले हेपाई खाए झै लाग्यो । उसले हेपेर मेरो झोला खोसै झै लाग्यो । म साह्रै खिन्न भए । मेरो अनुहारमा पनि त्यो खिन्नता आएछ । एउटीसंग आँखा जुध्यो उसले छाडिदिनुस्को संकेत गरी । हुन त म के नै गर्थे र ? तर पनि राम्ररी मागेको भए हुन्थ्यो भन्ने मेरो विचार थियो ।

झोलामा काँगियो, ब्रस, डायरी, पेन र कुरकुरे चिप्स थियो । डायरीका एकदुइ पाना पल्टायो तर कुरकुरेले उसको ध्यान आकषिर्त गर्यो ।

‘यो तपाइ खानुहुन्छ ?’ उसले झोलाको कुरकुरे देखाउँदै सोध्यो तर कस्तो रूखोपारामा । कस्तो टर्रो बोली ! जवाफ दिन पटक्कै जाँगर नचल्ने । मारेपनि मारोस् तर बोल्दिन भनेर बोलिन । ट्वाल्ल परेर त्यसको आँखामा हेरीरहे ।

‘तपाइ पहाड घुम्न आउनु भएको !’ उसले मलाई गिज्याएर हाँस्यो, ‘कुरकुरे खाने, घुम्ने, मोज गर्ने के भो र ? बाउआमाले सम्पति कमाइदिइ’ हालेका छन् हैन ?’

साथीतिर फर्केर बोल्यो, ‘हामी यहाँ दिनको तीनबजेसम्म चिया पिउन पाएका छैनौ । शहरका मान्छे पहाड घुम्छन् झोलामा कुरकुरे बोकेर !’ उसका साथीहरू चिया पिउँदै थिए । एउटाले उसको हातमा पनि चिया थमाइदियो ।

a mother in vugdeu
भुग्देउकी एक आमा जसका छोरा सेनामा छन्, र उनको हेरबिचार छोरीले गर्छिन् जो स्थानीय विद्यालयमा पढाउछिन् । तर छोरा सेनामा भएकाले माओवादीले जवरर्जस्ती उनको घरमा झन्डा गाडे । छोरालाई तत्कालै सेनाबाट निकाल्न उनीहरुले आदेश दिएका छन् ।

अब मतिर फर्केर बोल्यो, ‘तपाइहरू जस्तो बेकम्माले गर्दा हामीले लड्नु परेको हो बुझ्नुभो ? यँहा मान्छेहरू ढिडो खान पाएका हुदैनन् तपाइलाई थाहा छ ?’ झोला दियो र संगसंगै कुरकुरे पनि । म जिल्ल परे । म बेकम्मा ? कुरकुरे बोके भन्दैमा म बेकम्मा ? मैले त अब अलि उमेर भो आफै कमाउनु पर्छ, बाउको कमाइ धेरै खानुहुन्न भनेर बाउले किनिदिएको लुगा समेत लाउन छाडेको थिए । बाउसंग पैसा माग्नुपर्छ भनेर अरू साथी झै म फिल्म हेर्न जान्नथे, घुम्न जान्नथे । कुनैबेला बाहिर जाँदा खाजासमेत नखाइ र्फकन्थे । बाउसंग पैसा माग्नुभनेको आत्मसम्मान नै गिर्नु हो जस्तो लाग्थ्यो ।

म थोरै कमाउँथे, महिनाभर त्यो पैसाले चल्नु मेरो लागि कति गार्हो थियो । कसैले त्यसरी बेकम्मा भन्दा मेरो मन खिन्न भयो । मैले होइन पनि भन्न सकिन । म त पक्क परेर उसैतिर हेरीरहे । गाउँमा नपढ्ने, दिनभर क्याराम खेल्ने, घरमा भनेको नटेर्ने खराब मान्छेलाई बेकम्मा भन्थे । आफुलाई पनि कसैले त्यहि दर्जामा राख्दा त मेरो हालत खराब भो । अघि थाकेर रूञ्चे जस्तो देखीएको थिए भने अब त साच्चै रून मन लागेर रूञ्चे जस्तो देखिए ।

उनीहरू त चिया खाएर तलतिर लागे, अघि हामी माथी आएकै बाटो । मैले न चिया पिउन सके न अरू केही ! तामाङ्गनीहरूले म डराए भन्ठानेछन् । ‘केही हुदैन, हामी छौ,’ भनेर ढाडस दिए । मलाई झन् विचरा पो बनाए । मेरो मनादशा यीनीहरूले के बुझ्थे ? पैसावाल केटो पाएमात्र बिहे गर्छु भन्छन् । लोग्नेले पालीहाल्छ भन्ने सोच छ यीनको ।

उफ !!! भुग्देउ आएपछि पनि म खिन्न नै भइरहे । कसैसंग बोल्न मन लागेन । सबै तामाङ्गमा कुरा गर्थे, मलाई त्यसैपनि झर्को लागेर आउँथ्यो । आफुलाई ‘चिया थुङ्जी ? (चिया पिउनु भो ?)’ मात्र भन्न आउँथ्यो । त्यो पनि ताउरी डाँडा भन्दा अगाडी नै सीकेछु । ताउरी कटेपछि त मेरो बोल्ती नै बन्द भै’ हाल्यो नी ! एकछिन अघिसम्म तामाङ्ग सिकेरै जान्छु भन्ने मान्छे म त बोल्नै पो छाडे । भुग्देउमा पनि झुल्क्यो त्यो माओवादी छापामार । मैले त्यसलाई देखे । म धारामा थिए, त्यो त्यहि बाटो भएर जादै थियो । त्यसको र मेरो आँखा जुध्यो । त्यतिखेर मैले म उसंग रीसाएको जस्तो देखाए । उसले केही भनेन ।

destroyed vdc building
ध्वस्त गाविस भवन । गाबिस अन्यत्रै सारिएको छ ।

म जसको घरमा बसेको थिए, त्यस घरकी २ कक्षामा पढ्ने दश एघार बर्षी लुरी धन भन्ने केटी थिइ । सारा भुग्देउमा उसैसंगमात्र जम्यो मेरो । बोल्न चाँही धेरै बोल्नुपर्ने ! कत्ति धेरै प्रश्न गर्थी भने ! जवाफ दिदा म थाक्थे । म खाँदा खाँदै त थाक्ने मान्छे ! तर पनि ऊ मलाई मनपर्थी बेलाबखत बाहेक । ऊ नै मलाई यताउती लैजान्थि । तामाङ्ग कुरा गर्न सीकाउँथी । ऊ मेरी साथी भएकी थि जता जाँदा पनि । धारामा पनि थी ऊ । उसैले भनि त्यो माओवादी छापामारको नाम गौरव भनेर । ऊ प्रायसो भुग्देउतिरै देखिने पनि उसले सुनाइ ।

धनभन्दा माथीकी मन थिई । उमेर त मनको र मेरो बराबर नै हो । तर उसकी आमाको भनाइ अनुसार चारमा पढ्थी मन । मेरो कुरा बुझ्थी सायद उसले । म एउटा चिठी पठाउँछु त्यो गौरव भन्ने माओवादीलाई, मैले मनलाई भने, तिमीले लगेर दिनु है । हामी फर्कीयौ । यात्रामा पहिलोचोटी देखेको लालीगुराँसले कुनै महत्व राखेन । कुरकुरे धनले खुब मिठो मानेर खाई ।

काठमाडौं र्फकने बित्तिकै मैले चिठी लेखे, दुइपेज लामो । जसमा शहरका मान्छेलाई हेर्ने उनीहरूको सोच गलत छ भनेर लेखे । म शहरको पनि होइन, मैले लेखेको थिए, उसले सोचे झै म उनीहरूको बारेमा पटक्कै थाहा नभएको मान्छे होइन । मैले आफ्ना कुरा लेखे, कुरकुरे खाँदैमा मलाई बेकम्मा भन्नु भनेको त उनीहरू बैचारिक अबश्था कति कमजोर रहेछ भनेर प्रष्ट हुनु हो भनेर पनि लेखिदिए । अरू पनि थुप्रै कुरा लेखे । अँ, उसले दार्ही काटे अलि भलाद्मी देखिने पनि लेखिदिए । आफ्नो फोन नं. पनि लेखे । जवाफको आशा त थिएन तर प्रभाव भने पर्छ कि जस्तो लागेको थियो ।

दुइ महिना पछि फोन आयो । स्वरमा बदलाव थियो । तिमी भनेर सम्बोधन गरेको थियो । मैले चिठीमा मेरो उमेर पनि लेखेको थिए । उसले भुग्देउ आउने निम्तो दियो । आफ्नो व्यवहारको लागि माफी माग्यो । उसले धेरै कुरा गरेन । ‘भुग्देउ आऊ, बाँकी कुरा गरौला’ भन्यो । म मख्ख परे त्यो दिन । खुब रमाइलो लाग्यो । म भुग्देउ दौडिहाल्ने अवस्था थिएन । माओवादी त्यो पनि छापामारका बारेमा जान्न त खुब इच्छा थियो तर गइहाल्न सकिन । त्यसपछि फोनबाट हामीले बेलाबेलामा कुरा गर्यौ ।

साउनको अन्त्यमा म भुग्देउ गए । उसलाई खबर गरेको थिइन त्यसैले ऊ भेटिएला भन्नेमा दुविधा थियो । भेट भए कुरा गर्ने मन त थियो तर नभए पनि खासै फरक पर्दैनथ्यो । यो बीचमा म कसैसंग प्रेम गर्न थालेकी थिए । जसलाई प्रेम गर्थे सारै मरीहत्ते गरेर गर्थे । भुग्देउमा पाइला नराख्दै केही माओवादी छापामारसंग भेट भयो तर यसपाली कसैले मलाई केही सोधेन । उनीहरू आफ्नै बाटा लागे म आफ्नै बाटो ।

गौरव रहेछ, उसले बाटोमा भेटिएका छापामारबाट थाहा पनि पाइसकेछ, म आएको कुरा । गाउँ पहिलाको जस्तो शान्त थिएन । आर्मी पुलिसका घरमा उनीहरूले रातो झण्डा गाडेर तिनका परीवारवालालाई जागिरबाट बोलाउन एक महिनाको समय दिएको पन्ध्र दिन भै सकेको थियो । गाउँमा माओवादी जनयुद्ध सुरू भइसकेपछि पनि थुप्रै मान्छे आर्मी र पुलिसमा गएका रहेछन् । परबाट हेर्दा त गाउँ नै रातो देखिन्थ्यो । मैले त सुरूमा माओवादीले आफ्ना घरमा झण्डा पनि राख्न सुरू गरेछन् भन्ठानेको थिए । गाउँलेहरू कसैले खबर गरेका थिए त कोही जे होला होला भनेर बसेका थिए । एउटी आमै त छोराहरूको बारेमा पुरै अनभिज्ञ थिइन । ५,६ बर्षभयो छोरो नआएको, छोरीले पालीरहेकी छे भनेर सुनाइन् ।

>>>मायालाई mayablog@gmail.com मा सम्पर्क गर्न सकिन्छ । मायाको अघिल्लो ब्लग यहाँ छ । यो लेखको बाकी भाग यहाँ छ

Advertisements

10 thoughts on “मेरा मनका माओवादी-१”

  1. YO SABAI HAVA GUFF JASTO PANI CHHA TARA HUNAI SAKDAINA BHANERA BHANNA PANI SAKIDAINA. EUTA RAMRO KITAB FICTION LEKHYO BHANE INTERNATIONAL ROOP MAI BIKRI HUNA SAKCHHA.

    Like

  2. माया जी हटब्रेड्स क्याफे मा तपाइले भन्नुभएको अभ हुने भिषण युद्द भन्नु भएको छ र इ बत्ती निभ्ने बेलाका बत्ती बन्नु भएको छ त्यो out dated भएपनि कस्तो युद्द हुने तयारी मा रहेछ कृपया आलिकती भएपनि भनिदिनुन प्लिज!

    Like

  3. How many roads must a man walk down
    Before you call him a man?
    Yes, ‘n’ how many seas must a white dove sail
    Before she sleeps in the sand?
    Yes, ‘n’ how many times must the cannon balls fly
    Before they’re forever banned?
    The answer, my friend, is blowin’ in the wind,
    The answer is blowin’ in the wind

    Like

  4. maile pahila tyo sencond part padhe, suruma bhayera hola. This gurl(writer) writes very well. I am impressed anyway. I dont care this is truth or not but i like her writing skill. I am gonna mail her. I hope she will reply me.

    Like

  5. maya jee
    Well done. hope to read your presentation regularly.
    Bit curious about your relation with that comrade Gaurav. Did u make him clear that you are in love with another boy? OR you are in love with Gaurav?
    I suppose you are confused right now to choose your love life, aren’t you?

    cheers

    KK

    Like

  6. Maya’s story is really touching. Not sure if the story is true but it does have a good flavor. Looking forward to read the rest of the story. Can anytime take time to translate the whole story? I think non nepali speakers must not be deprieved of this beautiful story between a woman and a Maoist Comrade.
    Hoping to see you Maya someday. I will write an email to you.

    Like

  7. The story looks quite fictious but, Maya jee ur presentation style is superb. If this incident is real then u r heartless human Maya jee. Hoping more to read from U in the same presentation style….

    Like

  8. mayajee, you made me crazy. excellent write up. you are really brave, hmmmmmmmmmmmm……. but you did very bad with him(gaurab) he could leave the gun if you had said yes, i love you. this is not fair. anyway, congrachulation for superb blog.

    Like

Post your views

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s