मरिचमान मरे तर म खुशी भईन

पूर्वप्रधानमन्त्री मरिचमान सिंह तस्बिर- प्रकाश लामा सेतोपाटी.कम
पूर्वप्रधानमन्त्री मरिचमान सिंह तस्बिर- प्रकाश लामा सेतोपाटी.कम

सुलभ खत्री
यूडब्लूबी पाहुना ब्लग

मरिचमान मरे । मैले सम्झें ०४६ सालको त्यो एक दिन जव म त्रिपुरेश्वर सडकमा खुबै जोसिदै ‘मरिचेलाई फाँसी दे’ भनि चिच्याएको थिएँ । मरिचमानको मृत्यु त म त्यतिबेलै अर्थात २३ बर्ष अघि नै चाहन्थें म । उनी बल्ल अाज मरे । तर म खुशी हुन सकिन । साह्रै दुखी भएर आँशु पनि झारिन । अनि म प्रचन्ड र बाबुरामझैं गोहीका आँसु चुहाउदै मरिचमान निवासमा श्रृद्धान्जली अर्पण गर्न पनि गइन । किनकी मैले मरिचमान अरू केही नभएपनि नेवार हो, उसलाई सबैले देख्नेगरी श्रृद्धान्जली नदिए नेवारहरू चिढिन्छन् र आउदो चुनावमा उनीहरूको भोट पाइदैनभन्ने पनि सोचिन । तर मलाई मरिचमानप्रति सहानुभूति आएकै हो र त्यो कायमै छ । २३ बर्षअघि मरिचमानको ज्यान माग्न म आज उनी मर्दा किन उनीप्रति सहानुभूति राख्ने भएँ ? मैले निकै सोचेँ र जवाफ यस्तो पाएँ ।

तुलाना नगरी को कति राम्रो थाहा पाइदैन कहिलेकाहीँ । मरिचमान हटेपछिका वर्ष विशेषगरी वितेको ढेठ दशकमा नेपाली राजनीितमा जे भए तिनले मलाई दुखी तुल्याए । मैले (र, अरू लाखौं नेपालीले) घाटी दुख्नेगरी कराएर र केहीले ज्यानै दिएर हटाएको मरिचमानलाई विस्थापित गर्ने कांग्रेसले केही अव्यवस्थाका बीच हासिल गरेको आर्थिक बृद्धिलाई ०४६ सालको उपलब्धी- संसदीय प्रजातन्त्र-लाई निशाना बनाउदै थालिएको युद्धले तहसनहस पारिदियो । पक्कै कांग्रेसीहरूले जादुकै छडी चाही चलाउन सकेका थिएनन् । कतिपय गर्नै पर्ने काम पनि हुन सकेको थिएन । जगन्नाथ आचार्यजस्ता नेताले भुमीसुधार गर्न नपाएर मन्त्री पद छाड्नु पर्यो । अनि बलदेव मजगैया जस्ताले लोकमानहरूका अगाडी निरीह पर्नुपर्यो, त्यतिबेलै । तर निराशा शुरूहुनै लाग्दा नेपालमा ज्यान मार्नु फेसन बन्यो । मानिसहरूलाई उनीहरूका घर जमीनबाट लखेट्नु विस्थापित तुल्याइनु सामान्य बन्यो ।

अनि म देख्छु तीनै ज्यान मार्नेहरू जसले जातीयतामा विभाजन गरेर नेपाली समाज छियाछिया पारे, कैयौं निर्दोषको ज्यान लिए, बालकहरूलाई शिक्षा लिनबाट बन्चित तुल्याए, तिनै मानिसहरू नेपाली सडकमा कालोसिसा भएका गाडीमा प्रहरी सुरक्षामा साइरन बजाउदै कुदिरहेका छन् । बाटोमा हिड्दा उनीहरूको गाडीलाई अघि बढाउन पुलिसहरू हामी चढेका बस र बाइकलाई ठेल्छन्, पछाडी धकेल्छन्, ‘ओई!’ भन्दै कराउदै हामीलाई घुरेर हेर्दै अगाडी हुईक्याउछन् । ती अपराधीहरू दिनमा दसचोटी कुरा फेर्छन् परिस्थिती हेरेर अनि फाइदा केमा छ भन्ने गमेर । लासको राजनीति गर्ने यिनीहरू अचेल रणनीतिकरूपमा बलसहितको भोटको राजनीतिमा पनि छन् । त्यसैले छेपारोले झैं रंग फेरी रहन्छन, सोझा जनता झुक्याईरहन्छन् । हिजै मात्र तिनैमध्येका एकले एकल जातीयतामा आधारित संघीयता नेपालमा लागू नहुने कुरा शीर ठाडो पारेरै भने । त्यही मान्छे जो अघिल्लो वर्षसम्म “एकल जातीय राज्य पक्षधरको वृहत मोर्चा बनाउने गृहकार्यमा” थियो । जसले लडाईमा गुरिल्ला बटुल्न जातीयताको नारा दियो र धेरै जनता सचेत नभएको अघिल्लो चुनावमा एकल जातीयतामा आधारित संघियताको नाम र नंक्सा बाड्यो आज त्यही मान्छे जनतामा आएको सचेतताबाट सजग हुदै १८० डिग्रीमा फर्केर बोली फेर्दैछ ।

लडाकूका नाममा राष्ट्रिय ढुकुटीबाट अर्वौं रूपैया यिनैले कुम्लयाए । असंख्य गड्यौलाहरू यिनैले खाए । सडक विस्तारका नाममा ठेक्केदारहरूबाट कमिसन यिनैले कुम्याए । जलविद्युत आयोजनाको क्षमता बढाउने खेलमा करोडौं यिनैले हत्याए । रातारात जंगलबाट महलमा यिनीहरू यस्तरी आए सोच्दा पनि रिंगटा लाग्छ । अनि रिस उठ्छ । खेतमा रातदिन पसिना बगाउने मेरा बाले जति मिहिनेत गरेपनि उनका छोराछोरीलाई गतिला स्कुल र नीजि कलेजमा पढाउन सकेनन् । अंग्रेजी स्कुल अनि विदेशी कलेजमा हामीलाई पढाउनु त उनका लागि सपनाको कुरा थियो । कम्ति दुखले आईए सकिएन । घरभाडा तिर्न र भात खान कत्रो धौधौ हुन्थ्यो । एउटा सानो कोठामा गाउकै एकजना साथी र आफू बसिन्थ्यो । भान्सा एउटा कुनोमा थियो । भान्सा के भन्नु एउटा स्टोभ थियो जो बेलाबेला विग्रि रहन्थ्यो । 

मैले त्यो हविगतमा शिक्षा आर्जन गर्दा मरिचमानले बचाउ गरेको प्रणालीका थुप्रै बफादारका छोराछोरी काठमान्डुका गतिला स्कुल र विदेशी कलेजमा पढ्थे । आज तिनै कुलीन र तत्कालीन राज्यसत्ताबाट फाइदा लुट्नेहरूको लाडप्यारमा हुर्केका बचेराहरू मैले मुस्किलले बुझ्ने अंग्रेजीमा विदेशी विश्वविद्यालयका डिग्रीहरूको ध्वास दिदै “हामी हौं सबैभन्दा ठुला क्रान्तिकारी” भन्दै पाँचतारे होटलका सेमिनार, अखवारका पन्नाहरू र सामाजिक संजालहरूमा डुक्रिन्छन् । अनि यिनै ‘लाडप्यार बचेराहरू’ गाउँका मेरा काका मार्ने, खेती किसानी गर्ने बालाई गाउँबाट विस्थापित तुल्याउने, मेरो भाइलाई ‘हामीसँग जंगल हिड्ने भए हिड हैन भने’ भन्दै तर्साएर स्कुलै छाड्न बाध्य तुल्याउने अनि ठ्याक्कै त्यही बेला आफ्ना छोरीहरूलाई विदेशी स्कुलमा पढाउने कथित क्रान्तिकारीहरूको गुलामीमा अन्धा हुन्छन् । भन्न मन लाग्छ, तिम्रा बाउबाजे मरिचमानले बफादारी गरेको राजनीतिक संरचनामा त्यसैको फाइदा उठाएर डाक्टर बने, राजदूत बने, इन्जिनियर बने अनि तिमीहरूलाई लाडप्यारमा हुर्काउन र विदेशी स्कुलमा पढाउन सके । अनि आज मेरो भाइ र उजस्ता कयौंले कथित क्रान्तिकारीहरूसँग ‘हामीलाई पढ्न किन दिएनौं र आफूचाँही किन पीएचडीको गुड्डी हाक्छौं’ भनि सोध्दा लाडप्यार विदेशी डिग्रीहरू मेरो भाइ, उसका साथी र मजस्तालाई ‘काउन्टररिभोलुसनरी र महान रिभोलुसनरी नेताका लेखहरू नबुझ्ने अबुझ’ को उपमा दिन्छन् ।

कथित क्रान्तिकारीहरू र कुलीन ‘लाडप्यार बचेरा’हरूको यो महान ओठ जुदाईले मलाई ताज्जुब पार्छ । र भन्ठान्छु, हो मेरै बाउ गलत हुन, काका गलत, खेती गर्ने मेरा गाउले र स्कुल पढ्नबाट बन्चित हुने मेरो भाइ गलत । स्टोभ नबल्दा भोकै सुत्ने म गलत ।

अनि सोच्छु म किन आज मरिचमानप्रति सहानुभूति राख्दैछु । तिनै मरिचमान जसलाई मैले सडकमा उफ्रिदै फाँसी दिनुपर्छ भनेको थिएँ । खरावै प्रणाली किन नहोस मरिचमानले डटेर त्यसको बचाउ गरे । तर देशलाई बेचेनन् । सत्ताबाट हटेपछि विदेशी प्रभुको सत्तो सराप गर्ने अनि सत्तामा गएपछि तिनै प्रभुको गुलामी गर्ने घिनलाग्दो दोहोरो खेल मरिचमानले खेलेनन् । एउटा बफादार कुकुरझैं भए मरिचमान जसले मौकामा आफ्नो मालिकलाई छाडेन । यहाँ त मैले वितेका थुप्रै बर्षहरूमा स्यालहरूको भिड देखें जसले आफूलाई फाइदा पुग्छ भने हप्तादिनसम्म नेपाल बन्द ठोक्दिने, छिमेकी विरूद्ध मागहरूको ठेली उज्याएर अनि पुरै नहुने सपना बेचेर जनता उचाल्ने अनि स्वार्थ पुरा भएपछि जनता उराल्ने माग कुल्चिदै तिनै विदेशीका खुट्टा मोल्ने ।

मरिचमानले त्यो हदसम्म गिरेर कहिलै राष्ट्रिय अस्मिता लुटेनन् । देशलाई आफ्ना कुत्सित स्वार्थ पुरा गर्ने भाडो बनाएनन् । हो, जनआन्दोन ०४६ ताका उनी निहत्था मान्छेमार्नेहरूको मतियार बने, उनकै आदेशमा मान्छे मारिए तर मैले तुलनाको कुरा गरे नि । मरिचमानले वितेका २३ बर्ष गुम्नामको जिन्दगी विताएर त्यसको सजाय भोगे । उनको गुमनाम जिन्दगी सजायै सरह हुन्छ यदि ज्यान मारेर क्रान्ति गर्ने कथित क्रान्तिकारीहरूले प्रधानमन्त्री पद छाडेर पनि राज्यसत्तामा हालीमुहाली गरिरहेको र राष्ट्रिय अस्मिताको खुलेआम लुट मच्चाइरेको नग्न दृश्यसँग तुलना गर्ने हो भने । चोर र लुटेराहरूले भरीएको समाजमा सजाय पाएको लुटेरा सरकारी सुविधाविहीन र पुरा बनिनसकेको एकतल्ले घरमा चुपचाप बसिदिँदा पनि ठुलै राहत हुदो रैछ । अनि कसैले नलुटिदिँदा पनि आनन्द मान्नुपर्ने रैछ । मरिचमान मर्दा ममा सन्तोषको साटो सहानुभुती पलाउनुको कारण पनि त्यही हो । लाग्यो यो लुटेराले एकचोटी मात्र मान्छे मार्यो तर अहिलेका लुटेराजस्तो हजारौंलाई मारेर फेरीपनि देशको अस्मिता लुटिरहेन या लुट्ने मौका माएन । धन्यवाद हामीलाई एकपटक मात्र लुट्ने लुटेरा ।

Comments

3 responses to “मरिचमान मरे तर म खुशी भईन”

  1. Dibakar Pant Avatar
    Dibakar Pant

    Heartfelt and respectful Salute to true nationalist leader late Marich Man Singh Shrestha,former PM of Nepal ! Late Singh’s contribution to strengthen nationality will be remembered for long and long time to come.
    May departed soul rest in eternal peace !

  2. Motiram Phuyal Avatar

    खात्रिजिले मेरो अनि हाम्रो मनको कुरा ब्यक्त गरेर धेरै राम्रो गरिदिनु भो. त्यति बेला मरिचमान नराम्रो लाग्नु एक किसिम ले ठिकै थियो तर अहिले यो बितेको १५ वर्षमा यो देशले उनि भन्दा पनि खत्तम नेताको ताण्डब हेर्नु पर्यो . यो भन्दा ठुलो बिडम्बना के हुन सक्ला र? मरिचमान को आत्मा ले सान्ति पाओस !

  3. Privileged Maoist Kids and the Unfortunate Lot Who Were Forced Out of Schools by Maoists | United We Blog! for a Democratic Nepal Avatar

    […] forced to drop out of their schools and colleges. And there were several thousand others like the brother of Sulabh Khatri who were not just forced out of their schools but from their villages to become internal refugees […]

%d bloggers like this: