The Guerrilla War of Ideology in Nepal

नेपालमा जारी विचारको गुरिल्ला युद्ध

The Guerrilla War of Ideology in Nepal
विचारको गुरिल्ला युद्ध

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ ।

डिल्लीराम सुवेदी बन्दुकविहीन गुरिल्ला हुन् । काठमाडौंको शिक्षा क्याम्पसबाट अंग्रेजीमा स्नातकोत्तर पास यी युवा कागजी मैदानमा कलमले युद्ध गरिरहेका छन् । उनको विपक्षमा छन्, कलमै बोकेका अर्काथरी गुरिल्लाहरू जो पाँच वर्षअघिसम्म हतियार पनि बोक्थे । (ती हतियार अहिले क्यान्टोनमेन्टहरूमा छन् र तिनको साँचो अघिल्लो साता एक जना पूर्वगुरिल्लाले नेतृत्व गरेको सरकारलाई बुझाइएको छ ।)

[UWB note: For those who are subscribed to this site but don’t understand Nepali, this article, published in today’s Kantipur- a full page- explores the war of ideologies that is being fought in the Nepali society at multiple layers: from the thematic commetties of the Constituent Assembly to the internal forums of political parties to journals and op-ed pages newspapers to the tea-shops by the roads.  Nepali Congress, the second largest party in the CA, along with CPN UML, the third largest party, are on the one side of this ideological divide while the Maoist, the largest party, is on the other.]

स्वागत छ, नेपाली समाजलाई दुई फ्याकमा बाँड्ने ‘विचारहरूको युद्ध’ मा जसको एकापट्टी छन्- संविधानसभाको चुनावमा आश्चर्यजनक रूपमा हारेर राजनीतिकरूपमा लगभग ‘सीमान्तकृत’ बनेका कांग्रेसीहरू । अर्कापट्टी छन्- त्यही चुनावमा आश्चर्यजनक रूपमा जितेर सभालगायत समाजका विभिन्न हिस्सामा प्रभुत्व कायम गरेका माओवादीहरू । सभाका अरू दुई महत्त्वपूर्ण शक्ति, एमाले र मधेसवादी मुद्दा हेरी कहिले कांग्रेसतिर, कहिले माओवादीतिर ढल्किएको देख्दा नेपाली समाज ठ्याक्कै दुई वैचारिक भागमा विभाजित छ भन्न गाह्रो पर्छ । तर समाज कसरी बदल्ने जस्ता प्रमुख विषयमा माओवादी एकातिर, अरू शक्ति अर्कातिर देख्दा सजिलो पनि पर्छ ।

Guerrilla Warriors the Ideology
विचारको युद्धका गुरिल्लाहरू

धिमै गतिमा सही तर संविधान लेखन र शान्ति प्रक्रिया अघि बढ्दै जाँदा प्रश्न, उत्तर र तर्कहरूको यो लडाइँ गज्जबले चर्किएको छ र एकैपटक विभिन्न तहमा जोडदार ढंगमा जारी छ । संविधानसभाका विषयगत समितिहरूदेखि पार्टीहरूका बैठक हुँदै जर्नल/पत्रिकाहरूका सम्पादकीय पृष्ठहरूदेखि चियापसलसम्ममा जारी यो वैचारिक लडाइँमा पनि कांग्रेसीहरूले सभाको चुनावपछि जस्तै आफूहरू चेपिएको महसुस गरिरहेका छन् ।

त्यही महसुस गराइको एउटा नगन्य नतिजा हो ‘विचार विशेष’ नामको त्रैमासिक जर्नल (लामा विश्लेषणात्मक र प्राज्ञिक खालका लेखहरूलाई प्राथमिकतापूर्वक प्रकाशित गर्ने राजनीति या त्यस्तै अन्य विषय केन्दि्रत पुस्तिका) । २७ वर्षे सुवेदी त्यसका सम्पादक हुन् । अघिल्लो वर्ष वैशाख-असार अंक निकालेर थालिएको जर्नल पछाडिका खास दिमागचाहिँ कांग्रेसका अध्ययनशील नेताहरू प्रदीप गिरी, नरहरि आचार्य र गगन थापा हुन्, जसले लेखेर या सम्भावित लेखकहरूलाई लेख्न प्रोत्साहित गरेर प्रत्यक्षरूपमै जर्नल निकाल्ने प्रक्रियामा सामेल भएर सुवेदी र उनको टोलीलाई मार्गनिर्देश गर्छन् ।

विचार र दर्शनको युद्धमा कांग्रेसको पक्षको वकालत गर्न र त्योभन्दा महत्त्वपूर्ण बढ्दो माओवादी ‘वैचारिक आक्रमण’ को सामना गर्न त्यो जर्नल थालिएको भए पनि नेपाल विद्यार्थी संघको राजनीतिक पृष्ठभूमि भएका यी तन्नेरीहरूलाई आफूहरू कति शक्तिशाली र व्यापक सञ्जाल भएको प्रतिद्वन्द्वीसँग लड्दैछु भन्ने थाहा छ । हालैको एक साँझ पुतलीसडकस्थित प्रख्यात बाटुले घरसँगैको एउटा बेनामी भवनको दोस्रो तलास्थित ‘युद्धकोठा’ मा जर्नलको आगामी अंकबारे छलफल गर्न र कान्तिपुरसँग कुरा गर्न आफ्ना सहकर्मीहरूसँग जम्मा भएका सुवेदीले ल्यापटपजस्तै तर सानो र कम सुविधायुक्त एसर नेटबुकमा एउटा डकुमेन्ट खोले । ‘माओवादी पत्रिका डक्स’ नामको त्यो फाइलमा ‘विचारको युद्ध’ मा सुवेदीका प्रतिस्पर्धीहरूको व्यवस्थित सूची थियो जसलाई उनले ‘वैद्य समूह’ (१५ वटा पत्रिका), ‘भट्टराई समूह’ (१२) र ‘प्रचण्ड समूह’ (१५) मा बाँडेका थिए । केहीअघि तयार पारिएको त्यो सूचीमा भएभन्दा बढी माओवादी पत्रिका अहिले निस्किरहेको उनी ठान्छन् ।

जर्नल र पत्रिकाहरू देशमा जारी ‘विचारको युद्ध’ को एउटा पाटो मात्र हुन् । वैचारिक या दार्शनिक बहसका मुख्य थलो राजनीतिक पार्टीका सम्मेलन या समितिहरू नै हुन् जहाँ हुने छलफलले ती पार्टीको सामाजिक प्रभावअनुसार राष्ट्रिय एजेन्डा निर्धारण गर्ने या ती एजेन्डामा फेरबदल ल्याउने हैसियत राख्छन् । ती आन्तरिक लडाइँबाट खारिएर आएका विचारहरू बितेका तीन वर्षयता संविधानसभाका विषयगत समितिहरूमा भिडिरहेका छन् । त्यही भिडन्तअन्तर्गतका हुन्- ती २१ बुँदाहरू जसमा पार्टीहरू सहमति हुन नसक्दा संविधान लेखन रोकिएको छ (तर ती असहमति मात्रै रोकका पूरा कारणचाहिँ होइनन् ।) वैचारिक लडाइँका अर्का महत्त्वपूर्ण हतियार हुन्, पुस्तकहरू जसलाई पार्टी र नेताहरूले आफ्ना कार्यकर्तालाई आफ्ना कुरा सिकाउनेबाहेक विपक्षीका विचारको सामना र आक्रमण गर्न प्रयोग गरिरहेका छन् ।

माओवादीका उग्रपन्थी नेता मोहन वैद्यको किताब ‘संघर्षको दर्शन’ एउटा उपयुक्त उदाहरण हो । त्यसमा वैद्यले अहिलेको वैचारिक लडाइँको सबैभन्दा चर्को मुद्दा बनेको ‘बहुलवाद’ का विपक्षमा कलम चलाउँदै किन माओवादीले त्यो नमान्ने तर्क गरेका छन् । वैद्यको त्यो किताब र त्यसैमा आधारित हुँदै उनले सार्वजनिक कार्यक्रमहरूमा गर्ने तर्कलाई बहुलवादका पक्षधरहरू कांग्रेस र एमालेका केही नेताहरूले पढेका मात्रै छैनन् बुँदागतरूपमा धूलोपीठो हुनेगरी चुटेका पनि छन्, ‘विचार विशेष’ जस्ता जर्नल र ‘मूल्यांकन’ जस्ता माओवादी निकट पत्रिकाहरूमा । यी किताब, पत्रिका र जर्नलहरूका तर्कहरूलाई एकैठाउँमा राखेर हेर्ने हो भने एउटा ठूलो बक्सिङ हलको कल्पना गर्न सकिन्छ जहाँ विचारको पन्जा लगाएका मानिसहरू सकेसम्मको बल निकालेर एकअर्काका मुखैमा जोडले प्रहार गरिरहेका छन् ।

The war of ideology in Nepal. An article in Kantipur
The war of ideology in Nepal. An article in Kantipur

जटिल राजनीतिक शब्दावलीहरूप्रति उतिलामो धैर्यता नहुनेहरूले ‘बहुलवाद’ लाई ‘धेरै विचार र पार्टीबाहेकका समूहहरू पनि स्विकार्ने सिद्धान्त’ का रूपमा बुझ्न चाहलान् तर मोहन वैद्यको किताब र त्यसैमा आधारिक लेखहरू पढ्नेले त्यसलाई बुझ्न पदार्थको उत्पत्तिसम्ममा जानुपर्छ ।

संविधानमा ‘बहुलवाद’ शब्द राख्ने/नराख्ने (माओवादी राख्न चाहदैन, कांग्रेस/एमाले राख्नै पर्छ भन्छन्) विवादको गाम्भीर्यतालाई बुझेरै हुनुपर्छ ‘विचार विशेष’ ले आफ्नो पहिलो अंकको आवरणमा ‘बहुलवादमा आधारिक बहुदलीय प्रतिस्पर्धा नै किन ?’ शीर्षकअन्तर्गत केही लेख प्रकाशित गरेको थियो । जर्नलमा प्रदीप गिरी, कृष्ण खनाल, प्रदीप ज्ञवाली र जगदीश चन्द्र पोखरेलजस्ता कांग्रेस/एमाले विद्वानहरूले मिलेर बहुलवाद विरोधी माओवादी धारणाप्रति मुक्का बर्षाएका छन् । ‘विचार विशेष’ ले यो अंकमा माओवादी पक्षलाई स्थान दिएको छैन (र, माओवादीका थुप्रै पत्रिकाले पनि कांग्रेस पक्षलाई स्थान दिदैनन) तर त्यसको केही महिनापछि गत दसैँताका बामपन्थी पत्रिका मूल्यांकनले वैद्य, गिरी र ज्ञवालीका विचार सामेल गरेर बहुलवादमाथिको एउटा अंक निकाल्यो । राष्ट्रिय मुद्दामा वैचारिक बहस चलाउने पत्रिकाको चलनअनुसार त्यसो गरिएको मूल्यांकनका सम्पादक झलक सुवेदीले बताए ।

‘बहुलवादको दार्शनिक पक्षको कुरा गर्नु अघि हामीले दर्शनका तीन प्रमुख धाराबारे पनि चर्चा गुर्न आवश्यक छ,’ वैद्य मूल्यांकनमा लेख्छन्, ‘ती हुन्- अद्वैतवाद, द्वैतवाद र बहुलवाद । अद्वैतवाद दुई प्रकारका छन्- आदर्शवादी र द्वन्द्वात्मक भौतिकवादी । हरेक दर्शनका विभिन्न पाटा वा क्षेत्र हुन्छन् । जस्तै, तत्वमिमांसा, ज्ञान मिमांसा, आचारमीमांस आदि ।’

वैद्य थप्छन्- तत्वमिमांसाले संसारको सृष्टि गर्ने तत्व एउटै छ कि धेरै भन्ने प्रश्नको उत्तर खोज्छ । एउटै छ भन्ने दर्शन अद्वैतवाद हो । अनि त्यो तत्व ‘परमचेतना/परमेश्वर/चेतना’ हो भनिए त्यो आदर्शवादी अद्वैतवाद भयो । होइन, भौतिक भनिए त्यो भौतिकवादी वा द्वन्द्वात्मक भौतिकवादी अद्वैतवाद भयो । त्यसैगरी द्वैतवादले पदार्थ र चेतनालाई समानान्तर रूपमा प्राथमिक तत्व मान्छ । बहुलवादले बहुतत्वलाई प्राथमिक दर्जामा राख्छ । तत्वदर्शनकै क्षेत्रमा बहुलवादीहरू विभिन्न किसिमका तत्वले यो संसारको सृष्टि भयो भन्ने विश्वास गर्छन् । कसैले बहुदेवता, बहुचेतना, कसैले परमाणु बहुलता र कसैले पृथ्वी, जल, तेज, वायु, आकाश आदि बहुतत्वलाई प्राथमिक स्थानमा राख्ने गर्दछन् ।’ बहुलवादको राजनीतिक आदर्श संसदीय बहुदलीय व्यवस्था भएको दाबी गर्दै वैद्यले ‘त्यसको विपरीत अद्वैदवादी/द्वन्द्वात्मक भौतिकवादीको आदर्श वैज्ञानिक समाजवाद’ लेखेका छन् । वैज्ञानिक समाजवादले व्यक्ति हैन समाजलाई सर्वोपरी मान्ने र व्यक्तिका हितलाई समाजको मातहत राख्ने तर (व्यक्तिलाई प्राथमिकता दिने) बहुलवादीहरू त्यसो गर्न नचाहने वैद्य ठान्छन् ।

बहुलवादको त्यस्तो विश्लेषणले प्रदीप ज्ञवालीलाई कम्ती रिस उठाउँदैन । उनले वैद्यलाई ‘आधारभूत तत्थहरू बंग्याउने, तथ्यभन्दा बाहिर गएर बहसलाई बंग्याउने र कतिपय असान्दर्भिक प्रश्नहरू अगाडि’ ल्याउने भन्दै ‘नेपाली राजनीतिमा अहिले बहुलवादबारे भइहरेको बहस दर्शनको क्षेत्रमा धेरैअघिदेखि चल्दै आएको एकत्ववाद/बहुत्ववादसँग विलकुलै जोडिएको होइन’ भनेका छन् । ‘यो नेपाली समाजको विविधतालाई सम्बोधन गर्ने खालको राजनीतिक प्रणाली विकास गर्ने र लोकतन्त्रका आधारभूत पक्षबारे बहस गर्ने विषयसँग जोडिएको छ,’ ज्ञवालीले लेखेका छन्, ‘बहुलवाद राजनीतिमा एकाधिकारवाद वा सर्वसत्तावादको विपरीतार्थक शब्द हो । तपाईंले दलसँग असहमत र स्वतन्त्र व्यक्तिका आस्था, मत र क्रियाकलापलाई स्विकार्नुहुन्छ कि हुन्न ? बहुदलीय प्रतिस्पर्धाले दलको मात्रै कुरा गर्छ, वैयक्तिक स्वतन्त्रताको कुरा गर्दैन । दलमा आबद्ध नरहेका सामाजिक, सांस्कृतिक, धार्मिक समूह र नागरिक समाज/आन्दोलनले आफ्नो अधिकार प्रयोग गर्न पाउने कि नपाउने ? बहुलवादको विरोध गर्दा यी समूहका गतिविधि नियन्त्रण गर्नुपर्ने हुन्छ र त्यो सर्वसत्तावादी/एकाधिकारवादी सोच हो ।’

जारी वैचारिक लडाइँ खासमा पार्टीहरूले संविधान निर्माण गरेपछि या चुनावपछिको शासकीय संरचनामा आफ्नो वर्चश्व राख्न केन्द्रित भएको ‘मूल्यांकन’ का सम्पादक झलक सुवेदीको मूल्यांकन छ । ‘शब्दका नाममा वर्चश्व निर्माण गर्ने खेल हो यो,’ समाज माओवादीले नै बदल्ने तर त्यो परिवर्तन शान्तिपूर्ण हुनुपर्ने विचारधाराका सुवेदीले भने, ‘समाजका हरेक समूहलाई आफ्नो वर्चश्व गुम्ने खतरा छ । पुरुषलाई महिलाबाट, बाहुन/छेत्रीलाई जनजातिबाट, पहाडे जनजातिलाई मधेसी जनजातिबाट । यो लडाइँबाट पार्टीहरू त्यस्तो वर्चश्व कायम गराउन चाहन्छन् ताकी संविधान लेखन र शान्ति प्रक्रिया पूरा भएपछि चुनिने सरकारले आफ्ना नीति र कार्यक्रम लागू गर्न सकोस् ।’

विचारको युद्ध नेपालमै मात्र हुने या नौलो कुरो होइन । तर हालैका दशकहरू (विशेषगरी वितेका दुई) मा बढेको जनचेतना, फैलेको सञ्चार पहुँच र भएका राजनीतिक परिवर्तनले यसलाई सघन तुल्याएका छन् । अमेरिकी सेनाअन्तर्गतको ‘द स्ट्रयाटिजिक स्टडिज इन्स्टिच्युट’ ले ‘दृष्टिकोणहरू, अवधारणाहरू र छविहरू र विशेषगरी तिनको अर्थ्याइमा हुने संघर्ष’ लाई विचारहरूको युद्ध मानेको छ । ‘शारीरिक हिंसा कमै भएप नि (विचारका युद्धहरू) वास्तविक युद्धै हुन्,’ इन्स्टिच्युट भन्छ, ‘किनकि तिनको राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिक उद्देश्य हुन्छ र तिनमा शत्रुवत् चाहना या शत्रुवत् कार्यहरू समाविष्ट हुन्छन् ।’ विचारहरूको युद्धले कुनै पनि स्वरूप लिन सक्ने तर त्यसलाई सामान्यत चार भागमा बाँड्न सकिने इन्स्टिच्युटको बुझाइ छ । १) बौद्धिक छलफलहरू, २) दार्शनिक युद्धहरू, ३) धार्मिक सिद्धान्तमाथिका लडाइँहरू र ४) विज्ञापन अभियानहरू । जमिन र अन्य स्रोतमाथिका युद्धजस्तै वैचारिक लडाइँ पनि खासमा शक्ति र प्रभावकै लागि हुने इन्स्टिच्युटको ठहर छ ।

नेपाली वैचारिक युद्ध खासमा समाजलाई कसरी बल्ने भन्नेमा केन्दि्रत रहेको त्यो युद्धका एकथरि सहभागीहरू बताउँछन् । ‘समाज परिवर्तन शान्तिपूर्ण ढंगले गर्ने कि हिंसात्मक ?’ सूर्य थापाले भने, ‘माओवादी हिंसात्मक ढंगले बदल्न चाहन्छ, अरू शक्ति शान्तिपूर्णरूपमा ।’

थापा वैचारिक युद्धका अर्का निशस्त्र गुरिल्ला हुन् जो एमालेको ‘आधिकारिक’ मुखपत्र ‘नवयुग’ सम्पादन गर्छन् । एमाले भित्रका दुई मुख्य ध्रुवमा चाहिं उनी संस्थापन पक्षतिर छन् र केहीअघिसम्म अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हँदा थापा तिनका प्रेस सल्लाहकार थिए । पार्टीका कार्यकर्तालाई लक्ष्य गरिएको ‘बजारमा नबेचिने’ तर ‘१४ हजार ग्राहक’ भएको र ‘केन्द्रीय समितिको राजनीतिक पत्रिका’ नवयुगले पार्टीका आधिकारिक निर्णयहरूलाई जस्ताको तस्तै कार्यकर्तासमक्ष लैजाने थापाले बताए । ‘मूलधारका मिडियाले पार्टीको निर्णयलाई छानेर (या उनीहरूकै ढंगमा अर्थ्याएर) र आंशिकरूपमा प्रयोग गर्छन्,’ बल्खुस्थित एमाले केन्द्रीय कार्यालय परिसरमा रहेको नवयुगको कार्यालयमा भेटिएका थापाले भने, ‘पार्टीको मूललाइनसँग असहमत केही विचारलाई पनि बहसका रूपमा प्रकाशित गर्छौं ।’ नवयुगले एमाले इतरका राजनीतिक दृष्टिकोणलाई पनि ‘अतिथि स्तम्भ’ भनी प्रष्टरूपमा किटेर प्रकाशित गर्छ । ‘त्यसरी (किटेन भने) हाम्रै पार्टीको विचार रैछ भनेर कार्यकर्ता झुक्किइहाल्छन् नि,’ थापाले भने, ‘(अतिथिहरूले एमालेको नीति विपरीत) जे पनि लेख्छन् ।’

नवयुग बाहेक एमालेसँग आबद्ध अन्य सांगठनिक संरचनाहरूले पनि पत्रिका अनियमित निकाल्छन् । अनि बुधबार, दृष्टि र जनआस्थाजस्ता आमबजारमा जाने साप्ताहिक पत्रिकाहरू पनि छन् जसलाई एमालेमा आबद्ध पत्रकारहरूले आफ्नै प्रयासमा चलाउँछन् । तिनले सामान्य पार्टीको विचार प्रवर्द्धन गर्नु बाहेक पार्टीमा सक्रिय गुटहरूको स्वार्थको पनि प्रवर्द्धन गर्ने थापाले बताए । ‘आधिकारिक लाइन बोक्ने चाहिं होइन,’ उनले भने ।

आधिकारिक लाइन माओवादी समर्थक थुप्रै पत्रिकाले पनि कहाँ बोक्छन् र ? थापाका शब्दमा अहिले माओवादीमा ‘चरम वैचारिक समस्या’ र ‘लाइनको समस्या’ भएकाले त्यति धेरै र नेताविशेषका पत्रिका निक्लनु परेको हो । यस्तो लाग्छ, एउटा समूहले एउटा पत्रिका निकालेपछि अर्कोले तुरुन्तै प्रतिक्रिया दिइहाल्छ, पत्रिकै निकालेर । ‘हामीले ‘रातो झिल्को’ निकालेपछि वैद्य समूहका साथीहरूले पनि ‘कम्युनिस्ट आउटलुक’ (द्वैमासिक) निकाल्नु भयो, आकारसमेत उस्तै,’ झिल्कोकी सम्पादक तथा माओवादीमा एउटा खेमाको नेतृत्व गर्ने प्रधानमन्त्री भट्टराईकी छोरी मानुषी यमीले हालैको एक बिहान पेरिस डाँडास्थित माओवादी पार्टी केन्द्रीय कार्यालयको क्यान्टिनमा भनिन् । झिल्कोले आफूलाई माओवादीको निश्चित खेमाको मात्र मुखपत्र नबनाई अन्य पार्टी र विद्वानका विचार पनि सामेल गराएर अर्धप्राज्ञिक हुन खोजेको मानुषीले बताइन् । त्यसै प्रयासअन्र्तगत पहिलो अंकमा बाबुराम भट्टराई बाहेक माक्र्सवादबारेका प्रदीप गिरी र चैतन्य मिश्रका विश्लेषण पनि सामेल गरिएको मानुषीले बताइन् ।

खासमा कुनै जमानामा भट्टराईले सम्पादन गर्ने झिल्कोलाई उनकी छोरीले आकर्षक र प्रभावी ढंगमा व्यँताएपछि त्यसको प्रतिवाद गर्न कांग्रेसी युवाहरूले ‘विचार विशेष’ ल्याएका हुन् । त्यही मात्रै कारण चाहिं पक्कै होइन । ०६२/०६३ को जनआन्दोलन लगत्तै गगन थापाले राजनीति गर्दै पढेको त्रिचन्द्र क्याम्पसको ८ नम्बर कोठामा बसेर छलफल गर्न थालेका केही तन्नेरीले त्यसलाई ‘डिबेटिङ क्लव’ को नाममा कहिले कांग्रेस नेता नरहरि आचार्यको घरमा त कहिले कमलादीस्थित विश्वबैङ्कको हलमा लगेर निरन्तरता दिए । संविधानसभाको चुनावताका त्यति बेला कांग्रेसी कार्यकर्ताले जनतालाई के बताउने भनी उल्लेख गरिएको एउटा पुस्तिका निकालेका उनीहरू त्यो किताबको सफलता पनि हौसिएर ‘अब लेखापढीमा लाग्ने’ विचार गरेका थिए । त्यसमा आफूहरूलाई प्रदीप गिरी र आचार्यले प्रोत्साहन दिएको र त्यही प्रोत्साहककै कारण ‘पब्लिक पोलिसी पाठशाला’ नामको थिङ्क ट्याङ्क खोलेर लेखन, प्रकाशन र छलफललाई संस्थागत बनाएको थापाले बताए । पत्रिकालाई अर्का काङ्ग्रेसी विद्वान जुगल भुर्तेलले पनि सल्लाह दिन्छन् ।

तर समस्या बामपन्थीहरूको तुलनामा नपढ्ने या कम पढ्ने कांग्रेसीको बानीमा छ जो यी युवाहरूको सबैभन्दा ठूलो चुनौती हो । त्यही बानीको प्रतिविम्ब हुन्छ पुस्तक पसलहरूमा जहाँ बामपन्थी साहित्य र बाम पार्टी साहित्यहरू फालाफाल पाइन्छन् भने कांग्रेसी या वैचारिक विभाजनको कांग्रेसतिरको भागका किताब/पत्रिका विरलै । (कांग्रेस समर्थक साप्ताहिक पात्रिकाहरू नभएका होइनन् तर तिनले सैदान्तिक सन्दर्भमा बामपन्थीले जस्तो प्रखररूपमा आफूलाई प्रस्तुत गर्दैनन् या गरे पनि तिनको संख्या तुलनात्मकरूपमा कम छ जसले बामपन्थीहरूका अगाडि उनीहरूको प्रयासलाई फुच्चे तुल्याइदिन्छ । (गगन थापाको संयोजकत्वमा सुवेदी र अर्का तन्नेरी २७ वर्षे प्रताप पौडेलले ‘नेपाली कांग्रेसका ऐतिहासिक दस्ताबेज’ भन्ने किताब ल्याए, खुबै मिहिनेतपूर्वक कांग्रेसका पुराना दस्तावेजहरू खोजेर । ‘नेपाली कांग्रेसको समाजवादी घोषणा पत्र’ चाहिं पार्टी कार्यालयमै र नेताहरूसँग पनि नपाएपछि ‘एक जना बामपन्थीले लेखेको किताबबाट साभार गर्‍यौं’, पौडलेले भने । तर कांग्रेसको महाधिवेशनताका ३ सय रूपैयाँमा बेच्दा पनि पाठक नपाइएको गुनासो उनले गरे ।) प्रोपोगन्डा या सूचना प्रवाहमा कमजोर हुँदा आफ्नो पार्टीले जनतासँग प्रभावी ढंगमा सञ्चार गर्न नसकेको कांग्रेसीको बुझाइ छ ।

‘कांग्रेससँग समाजका थुप्रै प्रश्नका उत्तर छैनन्,’ कलमधारी कांग्रेसी गुरिल्ला दस्ताका नेता गगन थापाले भने, ‘केही प्रश्न असान्दर्भिक छन्, जसलाई असान्दर्भिक प्रमाणित गर्नुपर्छ कांग्रेसले । अनि केही प्रश्न उसले समाजलाई सोध्नु पनि पर्छ ।’

वैचारिक लडाइँमा आफ्ना हतियार तिखार्न कांग्रेसले नीति तथा अनुसन्धान प्रतिष्ठान खोलेको त छ तर त्यो स्याहार नपुगेको सरकारी संस्थानजस्तै भइसकेको कतिपय युवा कांग्रेसीको ठहर छ । ‘त्यसैले कांग्रेस अहिले जनसमक्ष आफ्ना कुरा राख्ने भन्दा पनि विरोधीहरूले ऊबारे भनिदिएका कुरामा प्रतिक्रिया दिनै व्यस्त हुन्छ,’ थापाले भने, ‘कांग्रेसले जनतामाझ आफ्नो छवि आफैं प्रस्तुत गर्ने भन्दा पनि विरोधीले बनाइदिएको छविको खण्डन गर्नै समय विताउँछ ।’ त्यसो हुनुमा समग्रमा कम्युनिस्ट र विशेषतः माओवादीको ‘प्रोपोगान्डा’ र कांग्रेसी शिथिलता जिम्मेवार भएको थापा ठान्छन् ।

कांग्रेसले लेखपढको संस्कृतिलाई प्रोत्साहन नगर्दा पार्टी साहित्यको सिर्जना चाहे जसरी हुन नसकेको र त्यसको प्रत्यक्ष नकारात्मक असर तल्लो तहमा हुने वैचारिक बहसहरूमा पार्टीको प्रस्तुतिमा परेको थापाको विश्लेषण छ । ‘राष्ट्रिय मुद्दामा पार्टीका धारणा र विचारलाई किताब या पत्रिकामार्फत कार्यकर्तासम्म पुर्‍याउन सके उनीहरूले त्यो थाहा पाएर विपक्षीसँगको वैचारिक बहसमा बलियोसँग प्रस्तुत हुन्थे,’ थापाले भने । पत्रिका या किताबमार्फत आउने कुराले कुनै न कुनै रूपमा तिनका पाठकलाई प्रभावित पार्ने र त्यसले राष्ट्रिय छलफलमा पनि असर पुर्‍याउने बुझाई मूल्यांकनका सम्पादक सुवेदीको छ । ‘हातमा परेको किताब कसैले पढ्छ र त्यसबाट केही नयाँ कुरा थाहा पाउँछ भने त्यसले उसको सोचलाई कुनै न कुनै रूपमा प्रभाव पार्छ,’ सुवेदीले भने ।

हालैका वर्षहरूमा राष्ट्रिय मुद्दाबारे माओवादीबाट आएको सूचनाको खोलोले कतिपय कांग्रेसीलाई बगाइदेलाजस्तो भएको छ जो तन्नेरीहरूले महसुस गरेका छन् । ‘२०४६ को परिवर्तनपछि पार्टीमा दर्शन/सिद्धान्तप्रति चासो राख्ने नेताहरूलाई छेउ लगाइयो,’ ‘विचार विशेष’ निकाल्ने टोलीका अर्का सदस्य २७ वर्षे शंकर तिवारीले कांग्रेसको राजनीतिबारे टिप्पणी गरे, ‘त्यसैबीच माओवादीले युद्ध थाल्यो र आफ्नो मिति सकिएको सिद्धान्तलाई यति धेरै प्रचार गर्‍यो, बमबर्षै गर्‍यो, हामी धकेलियौं ।’

अर्थात, खोलाले झन्डै बगायो ।

facebook.com/dwagle

Comments

2 responses to “नेपालमा जारी विचारको गुरिल्ला युद्ध”

  1. BINOD NEUPANE Avatar
    BINOD NEUPANE

    लेखाइ राम्रो छ । आफ्ना आफ्ना स्वार्थलाई प्राथमीकता दीएकै छन तपाईंले उभ्याएका पात्रहरुले ( सुर्य थापा , मानुसी , डिल्लिराम )। तर नेपाली समाज पार्टी , उन्को मुख पत्र , उन्का पार्टी का स्वार्थ भन्दा माथि छन । आज भोली त्यो उन्को रादे रुवाइ ली छुन नसक्ने भै सकेका छोउ हामी पाठकहरु । ऐले गुज्रीरहेको पुस्ता पञ्चेत भोग्ने देखी यो अवस्थामा आयीपुगेको छ । सिर्जनात्मक सोच , धार, नयापन् खोज्दै छ नेपाली पाठक । यो १२ बर्षको सत्ताको लागी एन्ले गरेको रगतको खेती ले नेपाली मन कुडीएको छ , यीन्को पार्टी र पार्टीका पत्रीका , मुख पत्र कार्य कर्ता ले पनि पड्दैन त्यो बुद्धी खुलाई दीनु भएको भये हुन्थ्यो । सत्तामा बसेको बेला लुटिएको पैसो को खेलो फड्को गर्दैछन भन्छ भैरे । जे होस् एक पाटो तपाईं ले उजागर गरेको मा धन्यवाद दिन्छ भैरे । मिठा कुरा पढ्न पाउ । जय होस् तपाईंको !!!

  2. aditya Avatar
    aditya

    thanks

%d bloggers like this: