स्कूल हुँदा नै मैले पढेको हुँ, नेपाल मन्दिर नै मन्दिरको देश हो भनेर । ठूलो भएपछि थाह पाए, किन त्यसो भनिएको रहेछ भनेर । त्यतिबेला नेपाल हिन्दु राष्ट्र थियो, त्यसैले पो त्यसो भनिएको थियो कि ? पछि थाह पाए, यहाँ मन्दिर मात्रै रहेनछन, मस्जिद, गिर्जाघर, गुम्बा पनि रहेनछ । अलिक ठूलो भएपछि मैले अर्को कुरा पनि थाह पाए, मन्दिर भन्दा त धेरै नेपालमा गैरसरकारी संस्थाहरु नै पो छन कि ? त्यसो भए, नेपाललाई ‘गैससहरुको देश’ किन नभनिएको होला ? मैले आजसम्म थाह पाएको छैन ।
जनकराज सापकोटा
गैसस र गैससकर्मी । यि दुवै शब्द नेपालीका निम्ती नौलो होईन । जसले सुकिलो कपडा लगाउछन, योजनाहरु कोर्छन, प्रतिवेदनहरु लेख्छन, बेला बेलामा छलफल नामका कार्यक्रमहरु चलाउछन । गाउँघरतिरको फोटो खिच्छन, भिडियो पनि खिच्छन र तिनलाई पनि प्रतिवेदनमा चढाउँछन । गैससहरुको नियमन गर्न बनेको समाजकल्याण परिषदको पछिल्लो तथ्यांक अनुसार देशका झण्डै वार्षिक २० अर्व रुपियाको बजेट यिनै गैससहरुले यस्तै काममा चलाउछन । विकासका नाममा, जागरणका नाममा अनि खाने तरिका सिकाउन, बाच्ने तरिका सिकाउन, हात धुने तरिका सिकाउन, शौचालय प्रयोग गर्ने तरिका सिकाउन र अरु धेरै कुरा सिकाउन गैससहरुले वार्षिक यतिका धेरै पैसा खर्चिन्छन । परियोजना सकिएपछि गैससहरुले तयार पार्ने प्रगती विवरणहरुलाई एकैठाउमा जम्मा पार्ने हो भने, जनतामा जागरणको अपूर्व लहर, उत्साहको भेल र उत्पादनको वाढी देखिन्छ । तर यर्थाथ त्यस्तो छैन । किनकी फिल्म र जीवन फरक भएझै गैससका अधिकांश प्रतिवेदनका शब्द, भाव र अर्थहरुझै नेपाली समाजको दुनिया फरक छ । शब्द ब्रह्म सत्य हुन भनिन्छ, तर गैससको संसारमा त्यो लागु हुदैन । गैसस प्रतिवेदनहरुमा शब्दहरुको जादुगरी उपयोग गरिन्छ, जसले यर्थाथको प्रतिबिम्बन त गर्दैन, बरु अर्को परियोजना ल्याउनका निम्ती ढोका भने खोल्ने सार्मथ्य राख्दछ ।
यही असार मसान्तसम्म परिषदमा दर्ता हुने राष्ट्रिय गैरसरकारी संस्थाको संख्या ३७ हजार ५ सय ३९ र अन्तराष्ट्रिय गैरसरकारी संस्थाको संख्या २९० रहेको छ । गैससहरुको कूल वजेटलाई देशको कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ संग भाग गर्दा प्रतिव्यक्ती ७५४ रुपिया पर्न आउछ । त्यस्तै ७१६ जना व्यक्ती बराबर एक गैसस पर्दछ । गैससहरुको उकालिंदो ग्राफले के साच्चिकै जनताको तहमा आधारभूत परिवर्तनहरु आएको छ त ? यो प्रश्नको उत्तर गैससकर्मीहरुका निम्ती सबैभन्दा सजिलो प्रश्न हो । उनीहरु आफ्ना कार्यक्रमहरु, परियोजनाहरु, संवाद र छलफललाई त्यसको जस दिन्छन । तर उनीहरु सामाजीक परिवर्तनका पक्षहरुलाई नजरअन्दाज गरिदिन्छन । मानौं कि, परिवर्तनका यावत मानकहरुमा राज्यको, समयको र मान्छेहरुको गतिशिलताको कुनै सम्बन्ध छैन ।
माक्र्सिट थ्यौरीमा राजनीति गर्नेहरुका निम्ती गैससहरु सबैभन्दा धेरै गाली गर्ने र तिनैको पैसाबाट भनिएको अथवा भन्न लगाइएको क्रान्तीका निम्ती ईन्धन जुटाउनु हो । माओवादीको सशस्त्र द्धन्द्धकालमा मासिक लेवी बुझाउने गैससहरु मात्रै जिल्लामा चल्न पाएका थिए । मासिक लेवी नबुझाउनेहरुले आफ्नो कार्यक्रम र परियोजनाहरु कि त बन्द गरेको थिए, कि त शहरमा सारेका थिए । द्वन्द्व सकियो र द्वन्द्वको प्रभाव अध्ययनका निम्ती फेरी गैससहरु गाउ पसे । गाउबाट शहर छिरेका क्रान्तीकारीहरु तिनै गैससको टेवलमा पुगे आफ्नो विचार राखे, भाषा बोले । तिनका शब्दहरु फेरी तिनै गैससका प्रतिवेदनहरुका दर्ज भए । यसरी द्वन्द्वले, गरिबीले, अभावले, पछौटेपनाले गैससहरुलाई नेपाली समाजसंग जोडीदिएको छ । जसको उपलब्धी कागज हुन्छ, जीवनमा हुदैन ।
गैससहरुको चरित्र नेपाली समाजमा आधारभूत रुपमा फरक छ । डाक्टर बनेस र ईन्जिनियर बनेस भनेर आर्शिवाद दिने नेपालीको पुरानै चलन हो । तर कसैले पनि गैससकर्मी बनेस भनेर आर्शिवाद दिएको कम्तीमा मैले सुनेको छैन । त्यसका पछाडी उनीहरुले गैससलाई नजरअन्दाज गरेको हैन, थाह नपाएको हो । आजका दिनसम्म जनताका नाममा कागजी कार्यक्रमहरु तयार पारेर, कागजी प्रतिवेदनहरु तयार पारेर धेरै गैससकर्मीहरुले आफ्नो जीवनमा तात्विक परिवर्तन ल्याएका छन । आफ्नो छोराछोरीलाई विदेशी युनिभर्सीटीमा पढाउने हैसियत निर्माण गरेका छन । तर यो सबै प्रक्रियामा एउटा गज्जपको झेल चलिरहेको बर्षौदेखी । जसलाई सामँन्य मान्छेले सजिलै पत्तो पाउदैन । किनकी ति सबै अंग्रेजी भाषामा हुन्छन र गोप्य हुन्छन । गोप्यता नेपालका गैससहरुको सबैभन्दा ठूलो परिचय हो । कतिको वजेट कहांबाट आउछ, कहां कहां खर्च हुन्छ र किन हुन्छ भनेर सकभर सार्वजनिक नर्गने गैससहरु नै सबैभन्दा धेरै पारदर्शीताको गीत गाउछन । गैससहरुको झुट पत्तो पाउन धेरै गाह्रो छैन । उनीहरुले परियोजनाका नाममा खर्चिने खर्चका फजुल विवरणहरु, अपत्यारिला तथ्यहरु नै काफी हुन्छन । मुश्किलले जम्मा भएको वार्षिक एक दुई लाख रुपिया बजेटमा रातो चिया खाएर, चौतारामा, मझेरीमा बसेर छलफल चलाउने, आफै कुटो कोदालो चलाएर काम गर्ने आमा समूहहरु र सहकारीहरुले ल्याएको जागरण र उनीहरुको भूमीकाको वर्षौदेखी नजरअन्दाज भईरहेको छ । किनकी उनीहरु कागजमा भन्दा धेरै जीवनमा परिवर्तनका लागी काम गर्छन । नक्कल भन्दा धेरै सक्कलमा विश्वास गर्छन । अभिनय भन्दा धेरै यर्थाथमा रमाउँछन । एउटा आमा समूहले गर्ने जागरणको कुनै अभियान एउटा गैससको हातमा पर्यो भने, त्यही अभियान कुनै विकासे सिद्धान्तका दसिमा नाप तौल हुन्छ । उक्त कार्यक्रमलाई विभिन्न चरणमा वाढिन्छ । योजना तर्जुमा हुन्छ, बजेटको हिसाबकिताब हुन्छ । त्यहां शिर्षक र उपशिर्षक तयार हुन्छन, हाकिम, कारिन्दा, सुपरभाईजर, अनुसन्धानकर्मी, परियोजना संयोजक, व्यवस्थपक जस्ता अनेकन पद तयार हुन्छन । निष्कर्ष: परियोजना अघीका केही तस्विरहरु, जसमा धुम्म अनुहार परेका, गरिबीले चिथोरेका मान्छेका फोटोहरु टासिन्छ र परियोजना पछिका तस्विहरु भनेर उन्मुक्त हांसेका, मुसुक्क मुस्कुराएका एकाध मान्छेका फोटोहरु टासिन्छ र केही थान शब्दले अघि र पछिको तुलनात्मक व्याख्या गरिन्छ । यसरी परियोजनाको अन्त हुन्छ ।
जब जब शहरमा कहिलेकाही सरसफाईका नाममा मुखमा मास्क लगाएर, हातमा पन्जा लगाएर अनुहार खुम्चाउदै दुई चार प्लास्टिकका टुक्रा टिपेको फोटो खिचेर सामाजीक संजाल र वेवसाईटहरुमा रँख्नुमा गर्व गर्ने मान्छेहरुको जमात देख्छु, मैले तिनीहरुमा पक्का गैससकर्मीको प्रभाव देख्छु । यो त एउटा उदाहरण मात्रै हो । काम भन्दा धेरै हल्ला, परिणाम भन्दा धेरै विवरणको खेती गैससहरुको मौलिक अवधारणा हो । जसलाई नेपाली समाजले वषौदेखी स्विकारिरहेको छ । किनकी गरिब समाजमा पैसाको बलसंग प्रतिरोध गर्ने क्षमता कमजोर हुन्छ ।
नेपालमा दुईथरी गफको खेती हुन्छ । एउटा खेती मौखिक प्रक्रियामा चलिरहेको छ र अर्को लिखित रुपमा । पहिलो प्रक्रिया राजनीतिक दलका स्वनामधन्य परिवर्तनका संवाहकहरुले गरिरहेका छन भने दोस्रो गैससहरुले । जहां गरिबी हुन्छ, जहां चेतना र अभाव हुन्छ, त्यहांको माटो गैससका निम्ती सबैभन्दा धेरै उर्वर हुन्छ । तर त्यही उर्वर माटोमा यति धेरै उर्वर प्रगती विवरणका रिपोर्टहरु उम्रिन्छन कि, ति समुदायको सत्य भन्दा कोषौं टाढा हुन्छ । कार्यक्रमको गुणात्मकताले गैससको शब्दकोषमा धेरै अर्थ राख्छ । किनकी शब्दहरु यति निरिह हुन्छन कि तिनीहरुले सत्य कहिल्यै देख्न पाउदैनन । गज्जपको रिपोर्ट तयार पार्नु गैससकर्मीको निम्ती सबैभन्दा ठूलो कलाको विषय हो । त्यसैले त कतिपय गैससहरुले संवाद र छलफल भन्दै चलाउने कार्यक्रहरुमा गैससहरुले गाविस सचिवले झुटो विवरण पेश गरेर भत्ता पचाएजस्तै वा झुटो विवरण देखाएर कोषको अपचलन गरिदिन्छन । असामान्य खर्चको विवरण र सामान्य जस्तै देखिने प्रतिवेदनको अंश नेपालको अक्सर गैससहरुको साझा पहिचान हो । जहां दुर्गम गाउमा रातो चिया खाएको, रात काटेको, मार्सि चामलको भात खाएको मूल्य विवरण काठमाडौंमा लाउन्ज र बारमा बसेको मूल्य बराबर हुन्छ, तयार पारिन्छ ।
यसका वावजुत गैससहरुले नेपालका गाउसम्म एउटा कुरा चाही पुर्याएका छन । त्यो हो, बोल्नसक्ने खुबीको विकास । तर्क गर्नसक्ने, प्रश्न गर्नसक्ने र चित्त नबुझेपछि मुन्टो बटारेर होस वा मुख लेपारेर होस आफ्नो असहमती व्यक्त गर्न सक्ने क्षमताको विकास । कतिपयले यस्तो प्रक्रियाको विकासमा दशक लामो द्वन्द्वको पनि भूमिका देख्लान । तर त्यसका आशिंक सत्यता मात्रै छ । किनकी द्वन्द्वले मान्छेमा प्रश्न गर्ने खुबीको विकास भन्दा धेरै संवेग पैदा गर्दछ । जसको परिणाम सिर्जनात्मक भन्दा धेरै ध्वसात्मक हुने गर्दछ । गैससहरुले अरु धेरै कुरा पनि सिकाएका छन । छलफल र संवाद कार्यक्रममा उपस्थित हुने गाउलेहरुको जिव्रोको स्वाद फेरेका छन । तिनीहरुको मैलो परेको गोजीमा टिलिक्क परेको कलम भिरिदिएका छन र हातमा एकाध लिफाफा र फाईल बोक्न सक्ने बनाईदिएका छन ।
गैससहरुको नियमन गर्ने सरकारी निकाय पनि नेपालमा नभएको होईन । लैनचौरको मोडमा एउटा भव्व र आर्कषक भवन छ, त्यसको नाम नेपाल समाजकल्याण परिषद हो । जहां त्यहीका कर्मचारी र राजनीतिक नियुक्ती पाएका पदाधिकारीहरुले आफ्नो कल्याणका निम्ती काम गर्छन । पछिल्ला ५ वर्षमा आयोगभीत्र भएका अनियमितताका बारेमा ५ प्रतिवेदन तयार भईसकेका छन । जसको कार्यन्वयन गैससकर्मीहरु नै चाहदैनन । किनकी जनता बलियो भए प्रजा बलियो हुनेछन भनेझै गैससहरु बलियो भए परिषद्का पदाधिकारीहरु बलियो हुनेछन । तर परिषद बलियो भए, गैससहरु कमजोर हुनेछन र परिषदका पदाधिकारीहरुको शुभलाको बाटो साघुरो हुनेछ । साघुरो बाटोमा दुर्घटनाको जोखिम हुन्छ । यो सत्य परिषद्का पदाधिकारीहरु राम्रोसंग जान्दछन, किनकी तिनीहरुले गैससकर्मीहरुको संगतबाट धेरै कुरा सिकेका छन ।