दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आज कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए: तलका तस्बिरमा क्लिके हुन्छ – प्रथम पेज र बाँकी।
सामान्यतः टाउकोभरि कपाल र सफा गाला मनपराउने केही नेपालीले अचेल तालु खाली भएका र झ्याप्प दाह्री पालेका एक अमेरिकीमा नायक भेट्टाएका छन् । देशको बिग्रँदो चालाबाट निराश सर्वसाधारणले दिनहुँजसो अमेरिकी राजदूतसँग गुनासो गरिरहेका छन् ।
अनि स्कट एच. डेलिसीले पनि लोकप्रिय भावनाअनुरूपका वक्तव्य सार्वजनिक गरेर इन्टरनेट प्रयोग गर्ने केही नेपालीहरूको वाहवाही पाएका छन् । तर फेसबुकमार्फत इन्टरनेटमा पहुँच भएका नेपालीहरूसँग भइरहेको अमेरिकी कूटनीतिज्ञको बढ्दो र कतिपय सन्दर्भमा खुलस्त अन्तक्रिर्या मूलधारका पत्रिकाहरूमार्फत बृहत् नेपाली समाजमा पोखिन थालेपछि त्यसले नेपालका केही शक्तिकेन्द्र र राजनीतिक दलहरूलाई अप्ठ्यारोमा पारेको छ ।
‘असन्तुलित विचार’
नेपाली कांग्रेसले पाँच वर्षपछि पहिलो पटक सोमबार देशैभर गरेको बन्दप्रति सार्वजनिक रूपमै असहमति राखेका डेलिसीले लोकतान्त्रिक मान्यता विपरीतको त्यस्तो हिंसात्मक विरोधले नेपाली अर्थतन्त्रलाई राम्रो नगर्ने आशय प्रकट गरे । तर डेलिसीको त्यो दबाबमूलक फेसबुक अभियानबारे जानकार तथा अमेरिका र अन्तर्राष्ट्रिय जगत्सँग राम्रो सम्बन्ध भएको पार्टी कांग्रेसका नेताहरूले शनिबारदेखि नै डेलिसीलाई टेढो आँखाले हेर्दै राजदूतको अभिव्यक्तिलाई ‘असान्दर्भिक’ र ‘राम्ररी सुसूचित नभएको’ भनी प्रतिवाद गरिरहे । हडतालको ‘कारक’ (चितवनस्थित जेलमा थुनिएका कांग्रेस कार्यकर्ताको हत्या) बारे ‘नबोलेका’ कूटनीतिज्ञले त्यसको विरोध कार्यक्रमप्रति ‘नकारात्मक टिप्पणी’ गर्नु ‘असन्तुलित’ भएको उनीहरूको तर्क छ ।
‘जेलभित्र मान्छे मारियो, यत्रो ठूलो घटनाको भत्र्सना गरेको सुनेनौं,’ अमेरिकाको न्युयोर्कस्थित युनिभर्सिटी एट बफेलो र न्युयोर्क युनिभर्सिटीबाट क्रमशः एमबीए र पीएचडी गरेका कांग्रेस सभासद मिनेन्द्र रिजालले सोमबार कान्तिपुरसँग भने, ‘जनसुरक्षामा त्यत्रो आघात पुग्दा त्यसबारे नबोलेको तर बन्द ठीक भएन मात्र भन्दा असन्तुलित भयो ।’ रिजालले सुसूचित र न्यायिक भए मात्र अमेरिकी दृष्टिकोणको महत्त्व हुने उल्लेख गर्दै डेलिसीका विचारलाई आफ्नो पार्टीले अमेरिकी सरकारको आधिकारिक धारणाका रूपमा नभई एक राजदूतले व्यक्तिगतस्तरमा सामाजिक सन्जाल साइटमा पोखेका विचारका रूपमा लिएको बताए । रिजालका अनुसार विदेशी राजदूतहरूले चाहँदैमा नेपाली दलहरूले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित या परिवर्तन गरेका छैनन् र गर्दैनन् ।









